
अलिपुरद्वार, 23 जून (हि.स.)। राष्ट्रिय राजमार्गमा जल निकासीको उचित व्यवस्था नहुनुको परिणाम अब सर्वसाधारण मानिसहरूले भोग्न परिरहेको छ। मङ्गलवार बिहान भएको वर्षापछि अलिपुरद्वार एक नम्बर ब्लकको पलाशबाड़ीस्थित शिलबाड़ीहाट आरआर प्राथमिक विद्यालयमा जलजमाउको गम्भीर स्थिति उत्पन्न भयो। वर्षाको पानी स्कूलका तीन वटा कक्षाभित्र पस्यो। यस अतिरिक्त मिड-डे मीलको भोजन क्षेत्र अनि शौचालय परिसरमा पनि घुँड़ा-घुँड़ासम्म पानी भरियो जसले गर्दा पठनपाठन बाधित भयो।
विद्यालयका प्रधान शिक्षक दीपङ्कर भुइयाँले बताए, स्कूल राष्ट्रिय राजमार्गको छेवैमा अवस्थित छ। सर्भिस रोडको किनारमा नाली आंशिक रूपमा मात्र निर्माण भएको छ। तर नालीको उच्चता अधिक भएको कारणले वर्षाको पानी सही ढङ्गमा बग्न सकिरहेको छैन। त्यसैले स्कूल परिसरमा पनी जमिन्छ। यस सरकारी प्राथमिक विद्यालयमा 3 सय जना विद्यार्थीहरू नामाङ्कित छन्। खराब मौसम भए पनि मङ्गलवार 225 जना विद्यार्थीहरू स्कूलमा आएका थिए। स्कूलमा पानी जमिएकोले गर्दा अभिभावकहरूमा पनि व्यापक असन्तोष देखियो। केही अभिभावकहरूलाई आफ्ना नानीहरूलाई बोकेर बाहिर निकाल्नुपऱ्यो।
यता राष्ट्रिय राजमार्ग प्राधिकरणको भनाइ छ, सड़क अनि नाली निर्माणको काम हाल जारी छ, समस्या भएका ठाउँहरूमा सुधार गरिंदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा