
गान्तोक, 23 जून (हि.स.)। नेपाली लघुकथा क्षेत्रमा सक्रिय तथा प्रतिष्ठित साहित्यिक संस्था ‘नमस्ते आधुनिक लघुकथा मञ्च’, चितवन (नेपाल) द्वारा प्रदान गरिने ‘लघुकथालय पुरस्कार २०८३’ यस वर्ष सिक्किमका साहित्यकार हेमराज अधिकारीको लघुकथासङ्ग्रह ‘च्यातिएको जुत्ता’ लाई प्रदान गरिने भएको छ। मञ्चका अध्यक्ष कृष्णजी शर्माले मञ्चको आधिकारिक फेसबुक पेजमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्।
वि.सं. २०८० मा स्थापना गरिएको ‘लघुकथालय पुरस्कार’ का लागि यस वर्ष वि.सं. २०८२ भित्र प्रकाशित देश-विदेशका विभिन्न लघुकथा कृतिहरू बजार तथा स्रष्टाहरूबाट सङ्कलन गरी, निर्णायक समितिले गहन अध्ययन र मूल्याङ्कन गरेको बताइएको छ। सोही मूल्याङ्कनका आधारमा पूर्व सिक्किमको तुमिन, गान्तोक जिल्लाका स्रष्टा हेमराज अधिकारीद्वारा लिखित ‘च्यातिएको जुत्ता’ यस वर्ष उत्कृष्ट कृतिका रूपमा छनोट भएको जनाइएको छ।
निर्णायक समितिको मूल्याङ्कनअनुसार, ‘च्यातिएको जुत्ता’ मा समावेश लघुकथाहरूले गरिबी, पीडा, सामाजिक विसङ्गति, निमुखा जनजीवनका संघर्ष तथा मानवीय अनुभूतिलाई सशक्त ढङ्गले अभिव्यक्त गरेका छन्। विषयवस्तुको गहन छनोट, प्रभावकारी प्रस्तुति, भाषिक सौन्दर्य र कलात्मक भावप्रक्षेपणका कारण कृतिलाई समकालीन नेपाली लघुकथाको सफल उदाहरणका रूपमा उल्लेख गरिएको छ। साथै, कृतिले ‘लघुकथालय’ ले अवलम्बन गरेका आदर्श लघुकथा सिद्धान्तको मूल मर्मलाई आत्मसात् गरेको निष्कर्षसमेत निकालिएको छ ।
सम्मानस्वरूप साहित्यकार हेमराज अधिकारीलाई नगद रु. ११,१११/सहित, ताम्रापत्रमा 'लघुकथालय पुरस्कार २०८३' प्रदान गरिनेछ। पुरस्कार तथा सम्मान समर्पण आगामी कार्तिक महिनामा चितवन, नेपालमा आयोजना हुने दुईदिने 'दोस्रो लघुकथा साहित्यिक महोत्सव २०८३' को पहिलो दिनमा गरिने जनाइएको छ ।
उल्लेखनीय छ, ‘च्यातिएको जुत्ता’ का लागि प्राप्त यो सम्मान साहित्यकार हेमराज अधिकारीको अन्तरराष्ट्रिय स्तरको अर्को महत्वपूर्ण उपलब्धि हो । यसअघि पनि उनलाई सोही संस्थाद्वारा ‘हेमलता स्मृति लघुकथा सम्मान’ प्रदान गरिएको थियो। हेमराज अधिकारी सिक्किमेली लघुकथा समाजका व्यवस्थापक हुनुका साथै नेपाली साहित्य परिषद् सिक्किमका प्रचारप्रसार सचिव समेत हुन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल