सिक्किमलाई टुरिजम अवार्ड, मुख्यमन्त्रीले दिए बधाई
पर्यटन मन्त्रीद्वारा मुख्यमन्त्रीलाई पुरस्कार हस्तान्तरण गर्दै।


गान्तोक, 23 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम पर्यटनलाई इन्डिया टुडे टुरिज्म अवार्ड २०२६ प्राप्त भएकोमा खुशी व्यक्त गर्दै सिक्किमको अनुपम प्राकृतिक सौन्दर्यलाई विश्वसामु चिनाउन निरन्तर योगदान पुर्‍याइरहेका सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा सिक्किम टुरिजमलाई 'मोस्ट इन्स्टाग्रामेबल ल्यान्डस्केप- जुलुकका हेयरपिन घुम्तीहरू' का लागि प्रतिष्ठित इन्डिया टुडे टुरिज्म अवार्ड २०२६ प्रदान गरिएको बताउँदै खुशी व्यक्त गरेका छन्।

यो सम्मानले जुलुकका प्रसिद्ध हेयरपिन घुम्तीहरूको मनमोहक प्राकृतिक सौन्दर्यलाई मनाउनका साथै सिक्किमलाई भारतका प्रमुख पर्यटन गन्तव्यहरूमध्ये एकका रूपमा थप सुदृढ़ बनाएको उनले उल्लेख गरेका छन्।

यो पुरस्कार हालै केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावत तथा गोवाका मुख्यमन्त्री प्रमोद सावन्तद्वारा प्रदान गरिएको थियो। यसैगरी, सिक्किम सरकारको तर्फबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्री छिरिङ टी. भोटिया र विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङपाले ग्रहण गरेका थिए।

मुख्यमन्त्रीले सिक्किम टुरिजम र सिक्किमको अनुपम प्राकृतिक सौन्दर्यलाई विश्वसामु चिनाउन निरन्तर योगदान पुर्‍याइरहेका सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande