चाम्लिङले सिक्किमलाई मणिपुरसँग तुलना गर्दै दिएको बयानको भाजपाले गर्यो भर्त्सना
bjp


गान्तोक, 23 जून (हि.स.)। भारतीय जनता पार्टी सिक्किमले एक कार्यक्रममा पूर्व मुख्यमन्त्री पवन चाम्लिङले सिक्किमलाई मणिपुरसँग तुलना गर्दै दिएको बयानको कडा शब्दमा भर्त्सना गरेको छ। प्रदेश भाजपाले दुई दशकभन्दा बढी समयसम्म राज्यको नेतृत्व गरिसकेको व्यक्तिबाट यस्ता गैरजिम्मेवार, भ्रामक र आधारहीन अभिव्यक्ति आउनु अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण रहेको बताएको छ।

भाजपा सिक्किमले मङ्गलबार जारी प्रेस विज्ञप्तिमा भनेको छ, 'सिक्किम एक शान्तिपूर्ण, प्रगतिशील र राजनीतिक रूपमा परिपक्व राज्य हो। राजनीतिक लाभका लागि मणिपुरका जनताले भोग्नुपरेका पीडा र चुनौतीहरूको उपहास गर्दै सिक्किमसित तुलना गर्नु चाम्लिङको असन्तुलित दिमागको उपज मात्र हो।'

प्रदेश भाजपाले सिक्किमका जनताले डर र भ्रम फैलाउने भाषणको होइन तर तथ्य, नीति र भविष्यको दृष्टिकोणमा आधारित राजनीतिक बहसको अपेक्षा गर्छन् भनी बताएको छ। सार्वजनिक जीवनमा रहेका नेताहरूले प्रमाण र उत्तरदायित्वका आधारमा बोल्नुपर्छ, जनतामा डर र अन्योल सिर्जना गर्ने राजनीतिक वक्तव्यका आधारमा होइन भन्दै भाजपाले सुझाउ पनि दिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'भाजपाले सदैव सिक्किमको विशिष्ट पहिचान, संस्कृति, परम्परा तथा भारतीय संविधानको धारा ३७१(एफ) अन्तर्गत प्राप्त संवैधानिक संरक्षणको सम्मान गर्दै आएको छ। भाजपा ‘विकसित भारत’ को संकल्पका साथ अघि बढिरहेको छ, जहाँ देशका सबै राज्य र क्षेत्रको समान रूपमा विकास होस् भन्ने लक्ष्य रहेको छ। यसै दृष्टिकोण अनुरूप सिक्किम सहित सम्पूर्ण उत्तर-पूर्वी क्षेत्रको विकास, पूर्वाधार निर्माण, आर्थिक अवसर विस्तार तथा जनकल्याणका कार्यक्रमहरूमा विशेष प्राथमिकता दिइएको छ। त्यसैले समावेशी विकास र राष्ट्रिय प्रगतिलाई केन्द्रमा राखेर काम गरिरहेको पार्टीलाई विभाजनकारी शक्तिको रूपमा चित्रण गर्नु भ्रामक र तथ्यविहीन हो।'

भाजपा सिक्किमले राज्यमा भाजपाप्रति जनसमर्थन र जनविश्वास क्रमशः बढ्दै गएकाले केही राजनीतिक नेताहरूलाई असहज बनाएको देखिन्छ, त्यसैले विकास, सुशासन र जनहितका विषयमा बहस गर्न नसकेपछि उनीहरू डर र भ्रमको राजनीति गर्न बाध्य भएको बताएको छ। भाजपा सिक्किमले चाम्लिङलाई राजनीतिक नाटक होइन तर रचनात्मक बहसमा सहभागी हुन आग्रह गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande