
मङ्गन, 23 जून (हि.स.)। सिक्किम सरकारको वन तथा पर्यावरण विभागका वरिष्ठ अधिकारीहरू, सल्लाहकारहरू र अध्यक्षहरूको प्रतिनिधिमण्डलले मङ्गन जिल्लाको आफ्नो तीन दिने आधिकारिक भ्रमणको एक भागको रूपमा आज मङ्गन जिल्ला अन्तर्गत विभिन्न रेन्ज र डिभिजनल कार्यालयहरूको भ्रमण गऱ्यो।
यो भ्रमण मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा तथा वन एवं पर्यावरण विभाग मन्त्री पिन्चो नामग्याल लेप्चा र लाचेन-मङ्गन निर्वाचन क्षेत्रका विधायक एवं मन्त्री साम्डुप लेप्चाको मार्गदर्शनमा गरिएको बताइएको छ। प्रतिनिधिमण्डलमा वन एवं पर्यावरण विभागका अध्यक्ष पेमा वाङ्गे लाचुङ्पा, राज्य औषधीय वनस्पति बोर्डका सल्लाहकार एनबी लिम्बू र राज्य भू-उपयोग बोर्डका सल्लाहकार साङ्गे शेर्पा सामेल थिए।
भ्रमणको उद्देश्य क्षेत्र-स्तरीय कार्यसम्पादनको मूल्याङ्कन गर्नु, वन तथा पर्यावरणीय संरक्षण पहलहरूको समीक्षा गर्नु र मङ्गन जिल्लाका विभागीय कार्यालयहरूबीच समन्वय सुदृढ गर्नु थियो। टोलीले आज बिहान डिक्चु चेकपोस्टबाट भ्रमणको पहिलो दिन शुरुवात गऱ्यो र पछि फिदाङ गेस्ट हाउस, ही ग्याथाङ गेस्ट हाउस, साङ्कालाङ चेकपोस्ट, पासिङ्दाङ साफो र लाचुङको वन विश्राम गृह भ्रमण गऱ्यो।
भ्रमणको क्रममा अधिकारीहरूले विभागीय गतिविधिहरूको समीक्षा गरे तथा फिल्ड कर्मचारी र अधिकारीहरूसँग उनीहरूको जिम्मेवारी, सरोकार र समग्र कल्याणको बारेमा अन्तरक्रिया गरे। विभागीय अधिकारीहरूले प्रतिनिधिमण्डललाई विभिन्न कार्यालयहरूको कार्यप्रणाली र संरक्षण पहलहरूको बारेमा जानकारी गराए। आजदेखि शुरु भएको आधिकारिक भ्रमण कार्यक्रम 25 जूनसम्म जारी रहने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल