
गान्तोक, 23 जून (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले क्रान्ति दिवस कार्यक्रममा दिएको बयानलाई लिएर भारतीय जनता पार्टी (भाजपा) सिक्किम र एसडीएफबीच आरोप-प्रत्यारोप शुरू भएको छ।
सोमवार जोरथाङमा आयोजित क्रान्ति दिवस कार्यक्रममा एसडीएफ अध्यक्षले सिक्किमलाई अशान्त मणिपुरसॅंग तुलना गरेको आरोप लगाउॅंदै भाजपा सिक्किमले उनको बयानको भत्सर्ना जनाएको छ। अर्कातिर, एसडीएफले आफ्नो पार्टीको सरकार त्यहाँ छ भनेर त्यहाँका जनताले भोग्न परिरहेको गहिरो पीडालाई अनदेखा गर्नु उचित होइन भनी कटाक्ष गरेको छ।
एसडीएफले आज जारी प्रेस विज्ञप्तिमा अध्यक्ष पवन चामलिङले कुनै राज्यसँग सिक्किमलाई तुलना गरेका थिएनन्, तर उदाहरण दिॅंदै सो राज्यको जस्तो अशान्ति सिक्किममा भित्र्याउनै हुँदैन भन्ने अशय व्यक्त गरेको स्पष्टीकरण दिएको छ। पार्टी अध्यक्षको आसय सिक्किममा पच्चीस वर्ष एसडीएफ सरकार रहँदा त्यस्ता अशान्ति भित्रिने सारा ढोकाहरू बन्द रहेको थियो भन्ने विषयलाई प्रकाश पार्नु थियो भनी एसडीएफले जनाएको छ।
एसडीएफले भनेको छ, 'एसडीएफ पार्टी सिक्किमलाई विपत्तिमा पार्ने हरेक विचारधारा र हरेक पार्टीसँग लड्न तयार छ। सिक्किमको भविष्यसित खेलवाड गर्न प्रयास गर्ने हरेक शक्तिविरूद्ध एसडीएफ खडा छ।'
हिन्दुस्थान समाचार / बिशाल