
मुर्शिदाबाद, 24 जून (हि.स.)। जिल्लामा ड्यूटीमा खटाइएका सीमा सुरक्षा बल (बीएसएफ)- का एकजना जवानको चट्याङ्ग लागेर मृत्यु भयो। मृतक जवानको पहिचान विनीत कुमार दुबे (46)- को रूपमा भएको छ जो 71औं बटालियनमा तैनाथ थिए भने मूल रूपमा उत्तर प्रदेशको कन्नौज जिल्ला निवासी थिए।
जानकारी अनुसार गए मङ्गलवार राती विनीत कुमार दुबेले मुर्शिदाबादको जङ्गीपुर क्षेत्रस्थित बाबुरा घाट सीमा चौकीमा ड्यूटी गरिरहेका थिए। यसै अवधि मिथुपुर क्षेत्रमा अचानक तीव्र हुरी, वर्षा अनि वज्रपात हुनथाल्यो। वज्रपातको चपेटमा परी उनी गम्भीर रूपमा घाइते भए। साथी जवानहरूले उनलाई जङ्गीपुर उपमण्डल अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए।
बीएसएफ अधिकारीहरूले बताए, पोस्टमर्टम पश्चात जवानको पार्थिव शरीरलाई पूर्ण राजकीय सम्मानको साथमा उनको पैतृक घर कन्नौज, उत्तर प्रदेश पठाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा