
खरसाङ, 24 जून (हि.स.)। खरसाङ महकुमा खेलकूद संघको एक महत्वपूर्ण सभा आगामी दिनहरुमा खेलाइने इन्डोर खेलहरु विषयलाई लिएर सम्पन्न भयो। यस सभाको अध्यक्षता संघका अध्यक्ष मोहन योन्जनले गरेका थिए।
सभालाई सचिव निर्मल गुरुङले सम्बोधन गर्दै प्रत्येक वर्ष संघद्वारा खेलाइने इन्डोर खेलहरु, विशेष गरि क्यारम र टेबल टेनिस प्रतियोगिताबारे जानकारी साझा गरे। चर्चा परिचर्चापछि सदस्यहरुले संघले हरेक वर्ष यी प्रतियोगिताहरुको आयोजना गर्दै आइरहेकाले यो वर्ष पनि खेलाउने निर्णय गरे। साथै, आवश्यकता परे प्रत्येक सदस्यले सक्दो आर्थिक मद्दत गर्ने पनि प्रतिबद्धता व्यक्त गरे।
प्रथममा आगामी 5 जुलाईको दिन क्यारम प्रतियोगिता गराइने भएको छ। यस प्रतियोगीतामा भाग लिन इच्छुक प्रतिभागीहरुले आगामी 2 जुलाईसम्म आ-आफ्नो नाम पंजीकृत गर्नु पर्नेछ। क्यारम प्रतियोगिता यस वर्ष केवल एकल वर्गमा मात्र गरिने निर्णय गरिएको छ। यसका विजेता, उप बिजेताका साथै तेस्रो अनि चौथो स्थान प्राप्त गर्ने प्रतियोगिहरुलाई पनि आकर्षक ट्रफी र नगद पुरस्कार प्रदान गरिने संघका उपाध्यक्ष फुर्बा घिसिङले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक