5 जुलाईमा युवा मोर्चाले खरसाङमा वृहत जनसभा गर्ने
bgpm yuva morcha


खरसाङ, 24 जून (हि.स.)। आगामी 5 जुलाईको दिन भारतीय गोर्खा युवा शक्तिको खरसाङमा वृहत् युवा जनसभा हुने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन भारतीय गोर्खा युवा शक्तिले घोषणा गरेको छ। युवा शक्तिले गोर्खा जातिको आङमा घाम लाग्ने अनि आजसम्म गोर्खाले पर्खिरहेको मुद्दा पार लाग्ने समय आएको छ भन्दै यो विश्वास दार्जिलिङ पहाडमा बस्ने गोर्खा जातिको मात्र नभएर विश्वमा नै बसेका गोर्खाहरूको रहेको बताएको छ।

यसै विषयलाई लिएर आज भारतीय गोर्खा युवा शक्ति खरसाङ महकुमा अन्तर्गत प्रतिनिधिहरुको एउटा सभा सम्पन्न भयो। जातिको मुद्दा पार लगाउनका निम्ति जीटीएको मियाद हुँदा-हुँदै पनि जीटीए जातीय मुद्दाको निम्ति बाधा नहोस् भनेर केन्द्रिय अध्यक्ष अनित थापाले मुख्य कार्यपालको पद त्यागेको युवा शक्तिले दाबी गरेको छ।

युवा शक्ति केन्द्रिय प्रवक्ता अनित खातीले सभापछि पत्रकारहरुसित कुराकानी गर्दै भने, 'युवा शक्ति आज पनि दह्रिलो संगठन हो। हामी जातीय मुद्दालाई अघि बढाउन आगामी पाँच जुलाईको दिन खरसाङमा बृहत जनसभा आयोजना गर्नेछौँ। यस जनसभामा दार्जिलिङ, खरसाङ, मिरिक अनि कालेबुङ क्षेत्रका सम्पूर्ण युवा शक्तिहरूको उपस्थिति रहनेछ। जनसभामा युवा शक्तिले वर्तमान राजनीतिक अवस्थामाथि आफ्नो टेक राख्नेछ। सबै युवाहरूलाई तयार हुने आह्वान गर्दछौं।'

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande