मुख्यमन्त्रीको नेतृत्वमा सम्पूर्ण सिक्किम एकताबद्ध रूपमा अघि बढ़िरहेको छ: उप्रेती
एसकेएम पार्टीको  कार्यालय उद्घाटन


गान्तोक, 24 जून (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको मार्ताम-रुम्तेक निर्वाचन क्षेत्रका लागि नयाँ स्थापना गरिएको पार्टी कार्यालय उद्घाटन गरिएको छ। साजोङमा स्थापित उक्त कार्यालयको उद्घाटन आज पार्टीका सेक्रेटरी जेनरल तथा मन्त्री अरुण उप्रेतीले गरे। कार्यक्रममा क्षेत्र विधायक सोनाम भेञ्चुङ्पा पनि उपस्थित थिए।

कार्यालय उद्घाटनपछि मन्त्री उप्रेतीले आयोजित जनसभामा सहभागिता जनाए। आफ्नो सम्बोधनमा मुख्य अतिथि मन्त्री उप्रेतीले पार्टीको नीति तथा सिद्धान्तबारे प्रकाश पारे। उनले अहिले नै चुनाउ भए मार्ताम-रुम्तेक समष्टिबाट एसकेएम पार्टीले बहुमत सहित विजय हासिल गर्ने दाबी गर्दै यस क्षेत्रका अधिकांश शीर्ष नेताहरू एसकेएममा आबद्ध रहेको बताए। पार्टीमा नयाँ र पुराना सदस्यबीच कुनै विभेद नरहेको उल्लेख गर्दै उनले पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सम्पूर्ण सिक्किम एकताबद्ध रूपमा अघि बढ़िरहेको बताए।

यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै विधायक भेञ्चुङ्पाले नवस्थापित पार्टी कार्यालय जनसुविधाका लागि समर्पित गरिएको बताए। उनले मार्ताम-रुम्तेकलाई सबैभन्दा विकसित क्षेत्रमध्ये एकका रूपमा उल्लेख गर्दै एसकेएम नेतृत्वमा समष्टिको विकासको गति अझ तीव्र बन्दै गएको बताए।कार्यकर्ताहरूलाई जनताको सेवा गर्दा कसैलाई ‘मेरो मान्छे’ नभन्न आग्रह गर्दै उनले सम्पूर्ण जनता एसकेएम पार्टी तथा अध्यक्ष प्रेमसिंह तामाङका हुन् भन्ने विचार प्रकट गरे।

कार्यक्रममा अन्य वक्ताहरूले पनि सम्बोधन गर्दै आ-आफ्ना विचार व्यक्त गरेका थिए। कार्यक्रममा एसकेएम पार्टी गान्तोक जिल्ला अध्यक्ष छुङछुङ भोटिया, नारी उपाध्यक्ष प्रभारी तथा मेयर छिरिङ पाल्देन भोटिया, युवा महासचिव योगेन राई, साङ्गठनिक प्रकोष्ठकी संयोजक गङ्गा प्रसाईँ, समष्टि अध्यक्ष ठाकुरप्रसाद शर्मा, महासचिव इन्द्र दाहाल लगायत अन्यहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande