
गान्तोक, 24 जून (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको पञ्चायत प्रकोष्ठले राज्यका सबै जिल्लामा सञ्चालन गरिरहेको जिल्लास्तरीय समन्वय बैठकको श्रृङ्खला अन्तर्गत आज पाकिम जिल्लास्तरीय समन्वय सभा पाकिम जीभीके हलमा सम्पन्न भएको छ। सभामा मन्त्री तथा एसकेएम पार्टीका वरिष्ठ उपाध्यक्ष (पाकिम-गान्तोक जिल्ला) एनबी दाहाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा विधायक तथा एसकेएम पञ्चायत सेल प्रकोष्ठकी उपाध्यक्ष प्रभारी कला राई, विधायक पामिन लेप्चा, पाकिम जिल्लाध्यक्ष तथा एसकेएम पञ्चायत प्रकोष्ठकी अध्यक्ष लाडेन ल्हामु भोटिया लगायत विभिन्न जनप्रतिनिधि, पार्टी पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
मुख्यमन्त्री प्रेमसिंह तामाङको दृष्टिकोणअनुरूप आयोजित सभाको उद्देश्य पञ्चायत तहका जनप्रतिनिधि र पार्टी नेतृत्वबीच समन्वय सुदृढ गर्नु, जनस्तरमा पार्टीको पहुँच बढाउनु तथा जनताका समस्या र अपेक्षालाई प्रभावकारी रूपमा पार्टी सङ्गठनसम्म पुर्याउनु रहेको बताइएको छ। कार्यक्रममा पाकिम र रम्फू नगर पञ्चायतका नवनिर्वाचित प्रतिनिधिहरू तथा पाकिम जिल्लाअन्तर्गतका पाँचवटा निर्वाचन क्षेत्रका एसकेएम पञ्चायत प्रकोष्ठका नवनियुक्त संयोजकहरूलाई स्वागत तथा सम्मान गरिएको थियो।
उपस्थित वक्ताहरूले नवनिर्वाचित तथा नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै जनताको सेवामा समर्पित, जिम्मेवार र जनहितप्रति प्रतिबद्ध भएर कार्य गर्ने विश्वास व्यक्त गरे। सभामा पार्टी सङ्गठनलाई अझ सशक्त बनाउने, तल्लो तहसम्म समन्वय विस्तार गर्ने तथा विकास र जनकल्याणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको थियो।
हिन्दुस्थान समाचार / बिशाल