
पाकिम, 25 जून (हि.स.)। राज्य जल संसाधन विभागका सचिव एलडी लाम्था र जिल्लापाल परी विश्नोईको अगुवाईमा आज नाम्चेबुङ निर्वाचन क्षेत्र अन्तर्गत बस्नेत झोडा परियोजनाको संयुक्त स्थल निरीक्षण गरियो। निरीक्षणमा भूमि राजस्व तथा आपदा प्रबन्धनका उपनिर्देशक, वार्ड पञ्चायतका र स्थानीय बासिन्दाहरूको पनि उपस्थिति थियो।
परियोजना क्षेत्रमा देखिएको माटो भासिने घटनालाई ध्यानमा राखेर निरीक्षण गरिएको थियो। भ्रमणको क्रममा टोलीले विद्यमान अवस्थाको स्थलगत मूल्याङ्कन गर्यो र सम्बन्धित सरोकारवालाहरूसँग परामर्श गरी समस्याको स्थितिको समीक्षा गर्यो।
अधिकारीहरूले प्रभावित क्षेत्रको विस्तृत रूपमा जाँच गरे र माटो भासिने सम्भावित कारण र प्रभावहरूबारे छलफल गरे। निरीक्षणको क्रममा स्थानीय बासिन्दाहरूले साझा गरेका चिन्ताहरूलाई पनि विचार गरियो।
स्थलगत मूल्याङ्कनपछि समस्यालाई सम्बोधन गर्न र परियोजना क्षेत्रको सुरक्षा र स्थिरता सुनिश्चित गर्न आवश्यक उपचारात्मक उपायहरूमाथि छलफल गरियो। सम्बन्धित विभागहरूलाई निरीक्षणको क्रममा गरिएका प्राविधिक मूल्याङ्कन र सिफारिसहरूको आधारमा उपयुक्त अनुगमन कार्य गर्न सल्लाह दिइएको छ।
हिन्दुस्थान समाचार / बिशाल