
सिलगढ़ी, 26 जून (हि.स.)। सेन्ट्रल कलोनी क्षेत्रमा शुक्रवार एकजना रेलकर्मीको संदिग्ध अवस्थामा गलफन्दामा झुण्डिरहेको शव भेटिनाले व्यापक खैलाबैला भयो। मृतकको पहिचान अरिन्दम राय बर्मन (46)- को रूपमा भएको छ जो मूल रूपमा कुचबिहार निवासी थिए। यहाँ तिनी रेलवे क्वार्टरमा एक्लै बस्दै आएका थिए।
भनिन्छ, अरिन्दम पछिल्लो चार दिनदेखिको ड्यूटीमा आएका थिएनन्। सम्पर्क हुन नसकेका कारण सहकर्मीहरूले परिवारलाई सूचना दिए।त्यसपछि उनका भाइ कुचबिहारबाट सिलगढ़ी आइपुगे। भाइ शुक्रवार क्वार्टरमा पुग्दा क्वार्टरको ढोका भित्रबाटै बन्द थियो भने तीव्र दुर्गन्ध पनि आइरहेको थियो। सूचना पाउनसाथ एनजेपी थानाको पुलिस घटनास्थलमा पुग्यो अनि ढोका भत्काएर अरिन्दमको सड़िसकेको शवलाई कब्जामा लियो।
प्राथमिक जाँचमा आशङ्का व्यक्त गरिएको छ, मृत्यु धेरै दिन अगाड़ि भइसकेको थियो। शवलाई पोस्टमर्टम गर्नको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। हाल पुलिसले मृत्युको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा