
बाग्राकोट, 26 जून (हि.स.)। डुवर्सका एक विशिष्ट साहित्यकार, नाट्यशिल्पी दिनानाथ शर्मा घिमिरेको निधनको समाचारले डुवर्सको साहित्यिक माहौलमा शोकको लहर छाएको छ। केही महिनाअघि मात्र क्यान्सर भएको पत्तो लागेपछि सिलगढ़ीमा छोरासँग बसेर उनले उपचार गराइरहेका थिए। तर 9 जूनको दिन उनका छोरा सागर शर्माको आकस्मिक निधन भएपछि पुत्रवियोगको गहिरो पीड़ाबाट विह्वल घिमिरेको एक हप्ता नबित्दै 16 जूनको दिन निधन भयो।
डुवर्सको माक्रापाड़ा निवासी घिमिरे सन् 1997 देखि जलपाइगढ़ीमा बस्दै आएका थिए। यस घटनाले जलपाइगढ़ी भानुनगरमा गहिरो शोक छाएको छ। 87 वर्षका घिमिरेले आफूपछि छोरी, बुहारी र नाता-नातिनीहरू छोड़ेर गएका छन्। दुवैको तेह्रदिने शुद्धिकार्य आगामी आइतवार 28 जूनको दिन रहेको पारिवारिक सूत्रले जानकारी दिएको छ।
यस घटनाले डुवर्सको साहित्यिक एवं सामाजिक माहौल पनि शोकित बनेको छ। पचासको दशकदेखि लेखनकार्य, नाटक मञ्चन र साहित्यिक सङ्गठनहरुमा सक्रिय रहेका घिमिरे सन् 1974 मा गठित डुवर्सको प्रमुख संस्था डुवर्स नेपाली साहित्य विकास समितिका संस्थाापक सदस्य थिए। दिसम्बर 2024 मा वीरपाड़ामा आयोजित विकास समितिको भव्य तीन दिवसीय स्वर्ण जयन्ती महोत्सवमा उनलाई 'संस्थापक सम्मान'-द्वारा सम्मानित गरिएको थियो।
९ मार्च, १९३९ मा माक्रापाड़ामा जन्मिएका दिनानाथ शर्मा घिमिरेले नवौँ श्रेणी पढ्दै गर्दा नै सन् १९५८ मा 'उदय'-मा आफ्नो पहिलो कविता छपाएका थिए -'जागजाग नेपाली' शीर्षकमा। आफू पनि जाग्ने अनि समाजलाई पनि जगाउने समय थियो त्यो। केही वर्ष रुचि फेर्दै उनी कालेबुङ, कलकत्ता, मथुरातिर पुगे। मनको उड़ाइ एकातिर; खुट्टाको दौड़ाइ अर्कातिर। उनलाई बोध भयो- दुईवटा नाउँमा खुट्टा हाल्नुको दुर्दशा अनि लेखेँ नाटक-'दुई नावमा खुट्टा'(१९५८)। त्यो नाटक मञ्चन भयो उनकै गाउँमा। डुवर्स त्यसबेला भर्खर-भर्खर सामाजिक र बौद्धिक जागृतिकालमा प्रवेश गरेको थियो। दुर्गा पूजाका मण्डपहरू नाटकका थिएटर जस्ता लाग्थे। माक्रापाड़ाको दुर्गा पूजा र दशैँ 'दुई नावमा खुट्टा'-ले फाँड्यो। रामलीलाको जमानामा मौलिक नाटकहरूको महत्त्व अर्कै हुन्थ्यो। उनको पाण्डुलिपि लिएर गए लङ्कापाड़ाका एक नाट्यकारले। त्यो जमानामा जेरक्स थिएन, विश्वास नै सबै कुरा थियो। दिनानाथले आफ्नो नाटक मञ्चन भए/नभएको पत्तो पाएनन्, न उनको पाण्डुलिपि नै फर्कियो। नाट्यलेखनको उषाकालमा डुवर्सबाट एउटा नाटक त्यसै नि:खोज भयो। त्यो पाण्डुलिपि हराउनु महँगाइमा अभाव थपिनु जस्तै थियो। वास्तवमा डुवर्सका अधिकांश मञ्चित नाटकहरूका पाण्डुलिपिले आज पनि कुनै अज्ञात फाइलमा प्राणहीन भएर चेप्टिनु र लापरवाह अवस्थामा नष्ट हुनुको नियति भोगिरहेका होलान्। दिनानाथ घिमिरेको अर्को नाटक 'विवशता' १९५९/६० तिरै माक्रापाड़ामा प्रदर्शित भएको थियो, तर त्यसले प्रकाशकको अनुहार देख्न पाएन। उनले तीन कोरी पुरानो स्मृतिको पुनर्लेखन गरे र जन्मियो 'विवशता' नामक कथा। सातवटा कथाहरूको सङ्कलन 'विवशता' प्रेसमा थियो। छपाउने तरखरमै उनलाई रोगले च्याप्यो। उनी अचानक थला परे। बङ्गलामा पनि एउटा कविता सङ्ग्रह निकाल्ने उनको इच्छा अधुरै रह्यो। २०२२ मा उनले सुकान्त भट्टाचार्यका कविताका नेपाली अनुवाद र आफ्ना मौलिक कविताहरू समेटर एउटा सङ्ग्रह निकालेका छन्। २०२३ मा 'मुनामदन' बङ्गला भाषामा अनुवाद गरेर छपाएका छन्। वार्धक्य उनका निम्ति बाधा थिएन। 87 वर्षको उमेरमा पनि उनी जोशिला थिए।
माक्रापाड़ामा जन्मिएका उनले झण्डै तीस वर्ष बगानमा बाबु काम गरे। 1997 मा अवकाशपछि उनले बगानको बसाइँ छोड्नु पऱ्यो। जलपाइगढ़ीमा सानो जमिन किनेका थिए। उनी छोराछोरीहरूसँग त्यतै बसाइँ सरे। जलपाइगढ़ीमा स्थानीय समाजसेवीहरूसँग मिलेर उनले भानुभक्तको सालिक ठड़ाए। पुलिस लाइनको पहिचान फेरियो। नयाँ नाम भयो भानुनगर। जलपाइगढ़ीमा उनी बङ्गला साहित्यिक गोष्ठीतिर पनि हिँड्न थाले। तर डुवर्स नेपाली साहित्य विकास समिति जस्तो डुवर्सको माउ संस्थाका संस्थापक सदस्यको डुवर्ससँग सम्पर्क छुट्यो। यहाँका नयाँ सर्जकहरू उनी चिन्दैनथे; समकालीन र पुरानाहरू अधिकांश बितेर गए। कितापसिंह राई जीवित हुँदा उनीसँग कुराकानी गरिरहन्थे। अरूका फोन नम्बरहरू उनीसँग थिएनन्।
साहित्यकार रूपेश शर्माले उनको घरमै पुगेर विकास समितिको स्नर्ण जयन्ती महोत्सवमा सम्मानका लागि निम्त्याए। उनका नयाँ साहित्यिक कृति र गतिविधिबारे डुवर्सलाई जानकारी गराए। यसरी उनको साहित्यिक परिचय अद्यावधिक भयो। डुवर्सका नयाँ पुस्तक र रचनाहरूमा उनका कृतिहरूको उल्लेख र चर्चा हुनथालेको छ। पचास-साठी-सत्तर-अस्सीको दशकमा डुवर्सेली साहित्यको एउटा गतिशील नाम थियो -दिनानाथ शर्मा घिमिरे। डुवर्ससँग सम्पर्क विच्छेद् जस्तो भएर उनी जलपाइगढ़ीमा एकान्तप्राय: जीवन बिताइरहेका थिए। उनका थुप्रै कथा, कविता, लेख अनि नाटक विभिन्न पत्र-पत्रिकामा छरिएर रहेका छन्।
वरिष्ठ साहित्यकार दिनानाथ शर्मा घिमिरेको निधनको खबरले डुवर्सको साहित्यिक माहौल शोकित बनेको छ। यस सम्बन्धमा डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष अबीर खालिङ र मूलसचिव रविन खवासले संस्थाको तर्फबाट गहिरो शोक प्रकट गरेका छन्। मूलसचिव रविन खवासले भने,घिमिरे विकास समितिका संस्थापक सदस्य थिए। उनी गुमनाम पाराले जलपाइगढ़ीमा बस्दा विकास समितिले उनको ठेगाना पत्तो लगाएर स्वर्ण जयन्ती महोत्सव निम्त्यायो अनि संस्थापक सदस्य सम्मानद्वारा सम्मानित गऱ्यो। उनीजस्ता विशिष्ट साहित्यसेवी र हाम्रो संस्थाका संस्थापक सदस्यलाई सम्मान गर्न पाउँदा हामीलाई पनि सन्तोक मिलेको थियो। एक हप्ताको अन्तरालमा उनी र उनका छोराको पनि मृत्यु भए को खबरले हामी स्तब्ध बनेका छौँ। शोक प्रकट गर्ने हामीसँग शब्द अपुग भइरहेको छ। यसैगरी, बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले पनि घिमिरेको निधनमा गहिरो शोक प्रकट गरेका छन्। प्रतिष्ठानका मूलसचिव शर्माले भने,म स्वयं उनीसँग सम्पर्कमा थिएँ। पछिल्लोपटक 2022 र 2023 मा उनका दुईवटा कृति प्रकाशित भएको जानकारी मैले नै साहित्यिक समाजलाई दिएको थिएँ। पछिल्लोपटक उनी कथा सङ्ग्रह ' विवशता' निकाल्ने तयारीमा थिए, जो पूरा हुनसकेन। सङ्ग्रह प्रेसमा डीटीपी भएर बसेको छ। वार्धक्यमा पनि उनले लेखनलाई निरन्तरता दिनुलाई शर्माले अनुकरणीय कार्य मानेका छन्। उनका छोराको समेत घिमिरेभन्दा एक हप्ताअघि निधन भएकोमा प्रतिष्ठानका सचिवले गहिरो शोक प्रकट गरे। यो समाचार सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि डुवर्स एवं डुवर्सबाहिरका विशिष्ट साहित्यकारहरूले गहिरो शोक प्रकट गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल