
मालदा, 26 जून (हि.स.)। राजतन्त्र सिद्धिएको कैयौं वर्ष भइसकेको छ। राजा अब इतिहासको पृष्ठसम्म मात्र सीमित रहे पनि पश्चिम बङ्गालको मालदा जिल्ला अन्तर्गत चाँचलमा आज पनि एउटा यस्तो परम्परा जीवित छ जसले इतिहास, धरोहर अनि साम्प्रदायिक सौहार्दको उदाहरण पेश गर्छ।
हरेक साल जस्तै यस साल पनि मोहर्रमको नवौं राती केलेनपुर मोहर्रम कमिटीको नेतृत्वमा मुस्लिम समुदायका मानिसहरूले 'ताजिया'-लाई काँधमा बोकेर चाँचलको ऐतिहासिक राजबाड़ीसम्म पुऱ्याए। राजबाड़ी परिसरमा ताजियालाई राखेर विशेष प्रार्थना गरियो। यस अवधि भावुक अनि सौहार्दपूर्ण माहोल देख्न पाइयो जहाँ हिन्दू अनि मुस्लिम दुवै समुदायका मानिसहरू आ-आफ्नो धार्मिक शैलीमा एकसाथ सामेल भए। एकातिर मानिसहरूले हात जोड़ेर नमस्कार गरिरहेका थिए भने अर्कोतिर प्रार्थनको लागि हात उठाइयो- यो दृश्य आपस्तको एकता र भाइचाराको जीवन्त प्रतीक बन्न पुग्यो।
खेलेनपुर मोहर्रम कमिटीका सचिव लालटु सरकारले बताए, जनश्रुति अनुसार चाँचलका तत्कालीन राजा शरतचन्द्र राय बहादुरले यस परम्पराको शुरूआत गरेका थिए। उनी आफै पनि राजमहलबाट मोहर्रमको आयोजनलाई हेरेर आनन्द लिने गर्थे। सोही समयदेखिको ताजियालाई राजबाड़ीसम्म लैजाने परम्परा शुरू भयो। समयसँगसँगै राजतन्त्र समाप्त भयो, तर यस परम्परा अनि सौहार्दको भावनालाई आज पनि स्थानीय मानिसहरूले सम्हालेर राखेका छन्।
लालटु सरकारले अझ भने, प्रत्येक वर्ष मोहर्रमको नवौं राती हामी ताजिया लिएर राजबाड़ीमा आउँछौं। यहाँ सबै समुदायका मानिसहरूले एकसाथ प्रार्थना गर्दछन्। राजा नरहे पनि उनले शुरू गरेको यो सौहार्द आज पनि कायम छ। उनले बताए, प्रशासनका दिशा-निर्देशहरूलाई पालन गर्दै यस वर्ष पनि डीजे र हतियार बिनै पूर्ण रूपमा शान्तिपूर्वक जुलूस सम्पन्न गरियो। धर्म अनि जातिदेखि माथि उक्लेर चाँचलको यो शताब्दिऔं पुरानो परम्परा सामाजिक एकता र भाइचाराको श्रेष्ठ उदाहरण हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा