
गान्तोक, 26 जून (हि.स.)। लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तरराष्ट्रिय दिवसको अवसरमा आज सिक्किम राज्य कानूनी सेवा प्राधिकरण (एसएलएसए) ले राज्य केन्द्रिय कारागार, रोङ्गेकमा वृक्षारोपण अभियान र जागरूकता कार्यक्रम आयोजना गर्यो।
कार्यक्रममा सिक्किम उच्च अदालतका मुख्य न्यायाधीश न्यायमूर्ति ए. मुहम्मद मुस्ताक मुख्य अतिथि र सिक्किम उच्च अदालतका न्यायाधीश न्यायमूर्ति भास्कर प्रधान विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। मुख्य अतिथि न्यायमूर्ति मुस्ताक र विशिष्ट अतिथि न्यायमूर्ति प्रधानले सुधार गृहको परिसरमा एभाकाडोको बिरुवा रोपे।
मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकले कैदीहरूसँग अन्तरक्रिया गर्दै जेल आत्म-सुधारको लागि ठाउँ हो भन्दै उनीहरूलाई निराश नबन्न र न्याय प्रणालीमा विश्वास कायम राख्न आग्रह गरे। उनले सिक्किमका जनताले शान्ति र व्यवस्था कायम राखेकोमा प्रशंसा पनि गरे। उनले ३३५ कैदीहरूको स्वीकृत क्षमताको तुलनामा कारागारमा हाल २९२ जना मात्र रहेको उल्लेख गरे। उनले कैदीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूले सामना गर्ने कठिनाइहरूबारे जानकारी लिॅंदै शारीरिक र मानसिक रूपमा बलियो रहन प्रोत्साहित गरे।
राज्य केन्द्रिय कारागार, रोङ्ग्येकका जेलर डा. पासाङ छोपेल भोटियाले सिक्किमको कारागार प्रणालीको बारे जानकारी गराउॅंदै भने, राज्यले हाल दुई सुधारात्मक सुविधाहरू सञ्चालन गर्दछ, जुन राज्य केन्द्रिय कारागार, रोङ्ग्येक र जिल्ला कारागार, नाम्ची हो। राज्य केन्द्रिय कारागार, रोङ्ग्येक २८ ऐकरमा फैलिएको छ। यस सुविधामा गान्तोक, पाकिम र मङ्गन जिल्लाका विचाराधीन कैदीहरू, साथै राज्यभरका दोषी ठहरिएका कैदीहरू छन्।
हिन्दुस्थान समाचार / बिशाल