
खरसाङ, 27 जून (हि.स.)। गोर्खा जन पुस्तकालय गरसाङको सञ्चालन समितिको द्वय वार्षिक कार्यकाल पूरा भएको छ। यस विषयलाई ध्यानमा राख्दै संस्थाका सचिव विनोद रसाइलीले साधारण सभा अनि सञ्चालन समितिको चुनाउ आगामी 19 जुलाईको दिन सम्पन्न गरिने आज प्रेस विज्ञप्तिमा बताएका।
विज्ञप्तिमा उल्लेख गरिए अनुसार, पुस्तकालयले प्रत्येक दुई वर्षमा सञ्चालन समितिको चुनाउ संस्थाको संविधानअनुरूप गोप्य मतदानद्वारा गर्नेछ। जम्मा 21 सदस्यीय कार्यकारी समितिमा 17 सदस्यहरूलाई मतपत्रमार्फत् चयन गरिन्छ भने रहल चारजना सदस्यलाई पछिबाट कार्यकारी समितिले चयन गर्दछ। सम्पूर्ण चुनाउमा यथासम्भव पारदर्शिता र निष्पक्ष बनाइराख्न पुस्तकालयले अलग एक चुनाउ समिति गठन गर्दछ। तीन सदस्यीय चुनाउ समितिमा वर्तमान कार्यकारी समितिको मासिक सभामा पारित निर्णयअनुसार यसचोटि वरिष्ठ अधिवक्ता मणिकचन्द प्रधान, पूर्वप्रधान अध्यापक तथा वरिष्ठ समाजसेवी भीमबहादुर छेत्री अनि आकाशवाणी खरसाङका पूर्व कार्यक्रम निष्पादक जगतप्रसाद तामाङ रहनेछन्।
चुनाउ प्रक्रियाको सम्पूर्ण औपचारिकता आगामी 30 जूनदेखि शुरू भएर आगामी 19 जुलाईको दिन परिणाम घोषणापछि समाप्त हुनेछ।उनले जनाएअनुसार, आगामी 30 जूनदेखि 3 जुलाईको दिन अपरान्ह 4 बजीदेखि बेलुकी 6 बजीसम्म नामाङ्कन पत्र वितरण गरिनेछ, 4 अनि 5 जुलाईको दिन नामाङ्कन पत्र बुझाउने मिति, 6 जुलाईको दिन नामाङ्कन पत्र जाँच, 7 जुलाईको दिन नामाङ्कन पत्र फिर्ता, 8 जुलाई वैध मतदान सूची प्रकाशित अनि 19 जुलाईको दिन मतदान सम्पन्न हुनेछ। अघिल्ला सबै चुनाउसम्बन्धी प्रक्रियाको निर्धारित समय अपरान्ह 4 बजीदेखि 6 बजी रहनेछ भने मतदान प्रक्रियाको समय पूर्वान्ह 10 बजीदेखि मध्यान्ह 1 बजीसम्म रहनेछ।
विज्ञप्तिमा आगामी 13 जुलाईको दिन गोजपुले सधैँ झैँ आदिकवि भानुभक्त आचार्यको 114 औँ जन्म जयन्ती धुमधामसँग पालन गर्ने सुनिश्चित गरेको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रमको विशेष आकर्षण आदिकवि भानुभक्तद्वारा रचित अन्तरविद्यालय रामायण पाठ प्रतियोगिता रहनेछ, जसमा विजयी विद्यालय तथा विद्यार्थीहरूलाई नगद पुरस्कार, ट्रफी र प्रमाण पत्रद्वारा सम्मान जनाइनेछ।
हिन्दुस्थान समाचार / हनोक