लङ्भ्यु चियाबारीको समस्या समाधानको मागमा खरसाङमा हस्ताक्षर अभियान
लङ्भ्यू चिया बगान प्रदर्शन


खरसाङ, 27 जून (हि.स.)। खरसाङको लङ्भ्यू चियाबारीका विभिन्न समस्याहरुलाई लिएर खरसाङको रेलवे स्टेशनमा हस्ताक्षर अभियान आयोजना गरिएको छ। खरसाङ क्षेत्रका युवाहरुको आयोजनामा सम्पन्न उक्त हस्ताक्षर अभियानमा खरसाङ क्षेत्रका विभिन्न युवाहरुका संघ संस्थाहरु र एनजीओहरुले सहभागिता जनाए।

यस हस्ताक्षर अभियानलाई छेवाङ योञ्जन, सुमेन्द्र तामाङ, तनुजा लामा, लबीन विश्वकर्मा, दावा शेर्पा, नारायण काफ्ले, प्रसिध्द राई, सेमिका लामा आदिले सम्बोधन गरेका थिए।‌ साथै प्रसिद्ध तामाङ, उज्जवल छेत्री, प्रसिद्ध राई आदिले समूह गीत प्रस्तुत गरे। युवाहरुले लङ्भ्यछ चियाबारीका श्रमिकहरूले पाउनु पर्ने हक र अधिकार साथै अहिलेसम्म मालिकवर्गले हाजिरा, पीएफ र ग्रेच्युटीको रकम सठीक रुपमा नदिएको बताउँदै वक्तव्य राखे।

यस हस्ताक्षर अभियानमा खरसाङका संघ संस्थाहरु र एनजीओहरुमा ईभान फाउण्डेशन, लाली गुराँस समूह, वी केयर खरसाङ लगायत अन्यका प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस हस्ताक्षर अभियान विषयमा पत्रकारहरुसित कुराकानी गर्दै छेवाङ योञ्जनले लङ्भ्यू चियाबारीका श्रमिकहरुको पक्षमा आज हस्ताक्षर अभियान आयोजना गरिएको जानकारी गराए। उनले केन्द्र र राज्यमा डबल इञ्जिनको सरकार छ, तर पनि लङ्भ्यू चियाबारीका श्रमिकहरुको समस्या समाधान नभएकोमा आश्चार्य प्रकट गरे।

उल्लेखनीय छ, खरसाङको लङ्भ्यू चियाबारीका श्रमिकहरुले 50 दिनसम्म भोक हडतालको आयोजना गरेपछि गत 13 जूनदेखि 72 घण्टे रिले अनसन शुरु गरेका छन्। हालमा 72 घण्टे रिले अनसनको पाँचौं चरण चलिरहेको छ। लङ्भ्यू चियाबारीका श्रमिकहरूको पक्षमा नै आज खरसाङको रेलवे स्टेशन परिसरमा हस्ताक्षर अभियान आयोजना गरिएको हो।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande