
वासिङ्टन, 01 जुलाई (हि.स.)। अमेरिकी हुलाक सेवा (यूएसपीएस) ले यस वर्ष दीपावलीको अवसरमा विशेष स्मारक हुलाक टिकट जारी गर्ने घोषणा गरेको छ। उक्त टिकटमा ह्युस्टनमा बसोबास गर्ने भारतीय मूलकी कलाकार संगीता भूटाडाले बनाएको रंगोलीको आकृति समावेश गरिएको छ। यसबारे यूएसपीएसले २९ जुनमा आफ्नो आधिकारिक वेबसाइटमार्फत जानकारी दिएको हो।
यूएसपीएसका अनुसार, दीपावली हिन्दू धर्मको सबैभन्दा महत्वपूर्ण पर्वहरूमध्ये एक हो, जसले असत्यमाथि सत्य र दुष्टतामाथि असलको विजयको सन्देश दिन्छ। यो पर्व सामान्यतया पाँच दिनसम्म मनाइन्छ। यस वर्ष दीपावली ८ नोभेम्बरमा मनाइनेछ।
हुलाक टिकटमा समावेश गरिएको रंगोलीको तस्बिर फोटोग्राफर विजय दीक्षितले खिचेका हुन्।
भारतमा जन्मिएकी संगीता भूटाडा लामो समयदेखि ह्युस्टन क्षेत्रमा बसोबास गर्दै आएकी छन् र विगत करिब ३० वर्षदेखि रंगोलीको परम्परागत लोककलाको अभ्यास गर्दै आएकी छन्। उक्त हुलाक टिकटको डिजाइन जेनिफर अर्नोल्डले तयार पारेकी हुन् र यसलाई आगामी अक्टोबरमा सार्वजनिक गरिनेछ।
यूएसपीएसले यससँगै अमेरिकी तटरक्षक बलको १५०औँ वार्षिकोत्सव, क्रिसमस कुकीज, यहूदीहरूको पर्व हनुक्का तथा अफ्रिकी-अमेरिकी सांस्कृतिक उत्सव क्वान्जाका अवसरमा पनि विशेष हुलाक टिकट जारी गर्ने घोषणा गरेको छ।
हनुक्काको अवसरमा लगातार नवौँ वर्ष विशेष हुलाक टिकट जारी गरिनेछ। यस वर्षको टिकटमा ‘ड्रेडल’ (एक प्रकारको लट्टु) को डिजिटल चित्र समावेश गरिएको छ, जसलाई कलाकार लिसा पेरिन ले आफ्नो यहूदी सांस्कृतिक सम्पदा तथा पूर्वी युरोपेली लोककलाबाट प्रेरित भएर सिर्जना गरेकी हुन्।
हिन्दुस्थान समाचार / बिशाल