चिनियाँ मोडेल होइन, नेपालको विकास नेपाली मोडेलबाटै सम्भव : ज्ञानेन्द्र शाही
राष्ट्रीय प्रजातंत्र पार्टी के संसदीय दल के नेता ज्ञानेन्द्र शाही


काठमाडौं, 0४ जुलाई (हि.स.)। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले चिनियाँ दूतावाससँग सम्बन्धित एक कार्यक्रममा नेपालको विकासका लागि कुनै पनि विदेशी विकास मोडेलको नक्कल गर्नु उपयुक्त नहुने बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित ‘चिनियाँ कम्युनिस्ट पार्टीको १०५ वर्ष : ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विकास बाहिरबाट आयात गरिने विषय नभएको स्पष्ट पारे।

शाहीले नेपालको भौगोलिक, सामाजिक तथा सांस्कृतिक परिवेश अन्य देशभन्दा फरक भएकाले अन्यत्र सफल भएका विकासका मोडेललाई जस्ताको तस्तै लागू गर्न नसकिने बताए। उनका अनुसार, नेपालले आफ्नै माटो, आफ्नै यथार्थ र राष्ट्रिय आवश्यकतामा आधारित मौलिक विकासको बाटो रोज्नुपर्छ। राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नै विकास मोडेल निर्माण गर्नुपर्ने उनले जोड दिए।

उनले नेपालको मुख्य समस्या सम्भावनाको अभाव नभई ती सम्भावनालाई कार्यान्वयनमा लैजान नसक्नु रहेको बताए। शाहीले भने, “विकास बाहिरबाट आयात गरिने वस्तु होइन, न त अर्को देशको विकास मोडेलको हुबहु नक्कल गरेर सफलता हासिल गर्न सकिन्छ। एउटा देशमा सफल भएको विकास मोडेल हिमालयको काखमा रहेको नेपालमा जस्ताको तस्तै लागू हुन सक्दैन।”

उनले नेपाल प्राकृतिक सम्पदाले धनी, प्रशस्त जलस्रोत भएको तथा विश्वका दुई ठूला अर्थतन्त्र भारत र चीनबीच रणनीतिक भौगोलिक अवस्थिति रहेको राष्ट्र भए पनि कार्यान्वयन पक्ष कमजोर भएकै कारण देश अपेक्षाअनुसार विकास हुन नसकेको बताए।

नेपाल-चीन सम्बन्धबारे बोल्दै शाहीले दुवै देशबीचको सम्बन्ध पारस्परिक सम्मान, सार्वभौम समानता, भौगोलिक अखण्डताको सम्मान तथा एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित रहेको बताए। आर्थिक रूपमा आत्मनिर्भर, सशक्त र स्थिर नेपाल नै समग्र क्षेत्रको शान्ति र स्थिरताको सबैभन्दा बलियो आधार हुने उनले बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande