
मस्को/कीव, 0५ जुलाई (हि.स.)। युक्रेनले गए राति रूसमाथि अर्को ठूलो ड्रोन आक्रमण गरेको छ। एकैपटक सयौं ड्रोन प्रहार गर्दै युक्रेनले सेन्ट पिटर्सबर्ग नजिकको तेल रिफाइनरी तथा सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। रूसको रक्षा मन्त्रालयले यस आक्रमणमा करिब ५०० वटा लामो दूरीका ड्रोन प्रयोग भएको स्वीकार गरेको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्स मार्फत आक्रमणको भिडियो सार्वजनिक गरेका छन्। भिडियोमा सेन्ट पिटर्सबर्ग बन्दरगाहस्थित एक तेल भण्डारण केन्द्रबाट बाक्लो धुवाँको मुस्लो उठिरहेको देखिन्छ।
एबीसी न्यूजका अनुसार, राष्ट्रपति जेलेन्स्कीले सेन्ट पिटर्सबर्ग बन्दरगाहको तेल सुविधा केन्द्रसँगै क्रोनस्टेड नौसैनिक अड्डा वरपर रहेका सैन्य संरचनाहरूमा सफल आक्रमण गरिएको बताएका छन्। रूसको रक्षा मन्त्रालयका अनुसार, आक्रकमणमा करिब ५०० लामो दूरीका ड्रोन संलग्न थिए। मस्कोका मेयरले राजधानी मस्कोलाई मात्र करिब २०० ड्रोनपपंले निशाना बनाएको जानकारी दिएका छन्।
पछिल्लो समय युक्रेनले रूसभित्र रहेका तेल रिफाइनरी, पूर्वाधार तथा रक्षा उद्योगसँग सम्बन्धित केन्द्रहरूमा लगभग दैनिकजसो लामो दूरीका ड्रोनमार्फत आक्रमण गर्दै आएको छ।
रिपोर्टका अनुसार, युक्रेनी आक्रमणपछि रूसका विभिन्न क्षेत्रमा इन्धन अभाव देखिन थालेको छ। ग्यास स्टेसनहरूमा लामो लाइन लागेको र नागरिकहरूले त्यसका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन्। युद्धक्षेत्रमा पनि रूसका चुनौतीहरू बढ्दै गएका छन्। युक्रेनले मध्यम दूरीका ड्रोनमार्फत रूसी रसद आपूर्ति प्रणालीलाई निशाना बनाउँदै कब्जामा रहेको क्रिमिया तर्फका आपूर्ति मार्ग अवरुद्ध गर्ने प्रयास गरिरहेको छ। इन्धन अभावका कारण क्रिमियामा आपतकालीन अवस्था घोषणा गरिएको छ भने युक्रेनी आक्रमणका कारण भएको विद्युत् कटौतीबीच कर्फ्यु पनि लगाइएको छ।
यसैबीच, रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक पोशाकमा एक सैन्य अड्डाको भ्रमण गरेका छन्। रूसी सेनाले शनिबार पूर्वी डोनबास क्षेत्रमा रहेको महत्वपूर्ण रक्षा केन्द्र कोस्टियान्टिनिभ्का शहर आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ। अन्तरराष्ट्रिय विश्लेषकहरूका अनुसार, यदि यो दाबी सत्य प्रमाणित भयो भने यसलाई यस वर्ष युद्धभूमिमा रूसको पहिलो ठूलो सफलता मानिनेछ।
पोल्यान्डका रक्षा विश्लेषक तथा रोचन कन्सल्टिङका निर्देशक कोनराड मुजिकाका अनुसार, रूसको अग्रसरता निकै सुस्त छ र सम्भवतः मई महिनामा जितेको भन्दा बढी भूभाग उसले समग्रमा गुमाएको हुन सक्छ। स्वतन्त्र विश्लेषकहरू तथा पश्चिमी मुलुकहरूको गुप्तचर प्रतिवेदनअनुसार यस युद्धमा रूसी सेनाले ठूलो क्षति व्यहोर्नुपरेको छ।
हिन्दुस्थान समाचार / बिशाल