
झाड़ग्राम, 10 जुलाई (हि.स.)। बितेका केही दिनदेखिको लगातार पानी परिरहेको कारणले सुवर्णरेखा नदीको जलस्तर बढ़ेर नयाग्राम औ साङ्कराइल खण्डलाई जोड़्ने फेयर वेदर पुललाई बिहीवार बगायो। यसले गर्दा दुई खण्माझ सम्पर्क व्यवस्था बाधित भएको छ भने हजारौं मानिसहरूलाई आवागमन गर्नमा कठिनाई भइरहेको छ।
साङ्कराइलको गढ़धरा औ नयाग्रामको देउलबाड़ क्षेत्रलाई जोड़्ने यो पुल झाड़ग्राम जिल्ला परिषदको अधिनमा छ। प्रत्येक वर्ष दुर्गा पूजापछि यस पुलको सञ्चालन गर्ने जिम्मा निविदाको माध्यमबाट विभिन्न संस्थाहरूलाई दिइन्छ तथा वाहनहरूबाट निर्धारित शुल्क लिइन्छ। यस पुलको माध्यमबाट नयाग्रामका मानिसहरूको लागि झाड़ग्राम जिल्ला मुख्यालयसम्म पुग्ने दूरत्व धेरै कम हुन्थ्यो।
पुलै बगाएपछि अब मानिसहरूलाई गोपीबल्लभपुर भएर लामो दूरत्व तय गरी जिल्ला मुख्यालय पुग्न परिरहेको छ। नदीमा नौका सेवा आरम्भ गरिएको छ, तर वर्षा ऋतुमा उर्लिँदो सुवर्णरेखा नदीमा यो व्यवस्थालाई जोखिमपूर्ण मानिँदैछ।
केही दिनपूर्व झाड़ग्राम जिल्ला परिषदका शिक्षा कर्माध्यक्ष सुमन साहुले सामाजिक सञ्जालको माध्यमबाट राज्य सरकारसित फेयर वेदर पुलको सट्टा पक्का पुल निर्माण गरिदिने माग गरेका थिए। जुलशोला गाउँका निवासी राजीव लोधले भने, प्रत्येक वर्ष वर्षाकालमा नदीको जलस्तर बढ़ेर यो पुललाई बगाउँछ जसबाट दुई खण्डका मानिसिहरूलाई व्यापक समस्याको सामना गर्नुपर्छ। उनले स्थायी पुल निर्माण गरिदिने मागलाई दोहोऱ्याए।
यता कुनै पनि अप्रिय घटनालाई रोक्नको लागि नयाग्राम अनि साङ्कराइल थानाको पक्षबाट नदीको दुवै किनारमा निगरानी बढ़ाइएको छ भने सुवर्णरेखा नदीको जलस्तर बढ़्नाले गोपीबल्लभपुर-दुई खण्डको मालिंचा गाउँमा पुनः कटाव शुरू भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा