
गेजिङ, 13 जुलाई (हि.स.)। गेजिङमा आज २१२औँ भानु जयन्ती विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। जिल्ला प्रशासनिक केन्द्र गेजिङ तथा पश्चिम सिक्किम साहित्य प्रकाशनको तत्वावधानमा सामुदायिक भवनमा सम्पन्न यस कार्यक्रममा भवन तथा आवास एवम् श्रम विभागका मन्त्री तथा याङथाङ निर्वाचन क्षेत्रका विधायक भीमहाङ सुब्बा मुख्य अतिथिका रूपमा उपस्थित थिए।
स्वागत मन्तव्य राख्दै आयोजक समितिका अध्यक्ष तथा जिल्लापाल तेन्जिङ डी डेन्जोङ्पाले प्रत्येक वर्ष जिल्ला स्तरमा भानु जयन्ती आयोजना हुँदै आएको उल्लेख गरे। उनले पश्चिम सिक्किम साहित्य प्रकाशन र जिल्ला प्रशासनबीचको सहकार्य साहित्य संरक्षण तथा प्रवर्द्धनका लागि महत्वपूर्ण उपलब्धि रहेको बताए।
समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री सुब्बाले पश्चिम सिक्किम नेपाली साहित्यको उर्वर भूमि बन्दै गएको उल्लेख गर्दै पश्चिम सिक्किम साहित्य प्रकाशनले साहित्यको विकास र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको बताए। उनले क्योङसास्थित भारतीय नेपाली अनुसन्धान केन्द्रलाई साहित्यिक तीर्थस्थलका रूपमा देखाउँदै यसले थप विकास गर्नुपर्ने आवश्यकतालाई औँल्याए। यसलाई उनले विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउ।
मन्त्री सुब्बाले आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै भाषा, साहित्य, संस्कृति र संस्कारको संरक्षण तथा सम्वर्द्धन सबैको साझा जिम्मेवारी रहेको बताए। क्योङ्सास्थित विश्वकै सबैभन्दा ठूलो भानु सालिक जीर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसको मर्मत तथा संरक्षणको कार्य शीघ्र अघि बढाउनुपर्नेमा जोड दिए। आलोचनाभन्दा जिम्मेवारीबोधका साथ सम्पदाको संरक्षणमा लाग्नुपर्ने उनको भनाई थियो।
उनले भानु जयन्तीलाई जातीय सद्भाव, सामाजिक एकता र सांस्कृतिक गौरवको पर्वका रूपमा व्याख्या गर्दै गेजिङको ऐतिहासिक महत्व जोगाइराख्न सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए। साहित्य समाजको गहना रहेको उल्लेख गर्दै साहित्यकारहरूको योगदान सधैँ सम्मानयोग्य रहने विचार पनि उनले व्यक्त गरे।
कार्यक्रममा यसअघि गेजिङको क्योङ्सास्थित भानु सालिकमा मुख्य अतिथि तथा विशिष्ट अतिथिहरूद्वारा माल्यार्पण गरिएको थियो। त्यसपछि सामुदायिक भवनमा औपचारिक समारोह सञ्चालन गरियो।
कार्यक्रममा पश्चिम सिक्किम साहित्य प्रकाशनद्वारा वार्षिक रूपमा प्रदान गरिने स्रष्टा पुरस्कार विभिन्न विधाका स्रष्टाहरूलाई प्रदान गरियो। कविता विधामा दक्षिण सिक्किमको जोरथाङ निवासी बुनु परियारलाई उनको कविता ‘नारी हुनु घिन होइन’ का लागि सम्मान गरियो। कथा विधामा टिम्बुरबुङ निवासी वरिष्ठ साहित्यकार जीके शर्मा भट्टराईलाई उनको नवौँ कथा सङ्ग्रह ‘बेघर मान्छे’ का लागि र निबन्ध विधामा खरसाङको मकैबारी–थापाथली निवासी रीना सुब्बालाई ‘साहित्य लेखन र लेखक समुदायमा लैङ्गिक विभेद’ शीर्षकको निबन्धका लागि सम्मान प्रदान गरियो।
कार्यक्रममा ‘उपमान बस्नेत स्मृति साहित्य पुरस्कार’ दक्षिण सिक्किमको दिउ–दामथाङ निवासी वरिष्ठ साहित्यकार पेम नर्बु शेर्पालाई प्रदान गरियो। यसरी नै पश्चिम जिल्लाबाट कक्षा १२ को परीक्षामा नेपाली, लिम्बू, लेप्चा तथा भोटिया भाषामा उत्कृष्ट अङ्क प्राप्त गर्ने चारजना विद्यार्थीलाई सम्मान तथा स्मृति चिह्न प्रदान गरिएको थियो।
कार्यक्रममा साहित्यिक गोष्ठी, रचना वाचन, रामायण पाठ तथा लोकगीत प्रतियोगिताका विजेताहरूलाई समारोहमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको बाहुलीबाट प्रमाणपत्र, नगद पुरस्कार तथा ट्रफी प्रदान गरिएको थियो।
कार्यक्रममा गेजिङ जिल्लाका पुलिस अधीक्षक छिरिङ शेर्पा, पद्मश्रीले सम्मानित साहित्यकार केदार गुरुङ तथा अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल