भाषा जोगाउने काम साहित्यकारहरूको मात्र होइन, समाजको पनि हो: अरुण कुमार उप्रेती
अरुण कुमार उप्रेती


गान्तोक, 13 जुलाई (हि.स.)। ग्रामीण विकास विभाग मन्त्री अरुण कुमार उप्रेतीले भाषा जोगाउने काम केवल साहित्यकारहरूको मात्र होइन, सम्पूर्ण समाजको पनि हो भनी बताएका छन्। उनी आज राजधानीमा आयोजित 212औं भानुजयन्ती समारोहलाई सम्बोधन गर्दै थिए। यहॉंको मनन केन्द्रमा आयोजित कार्यक्रमको आयोजना नेपाली साहित्य परिषद्, सिक्किमले गरेको थियो।

कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित मन्त्री उप्रेतीले आज भानु पुरस्कार लगायत विभिन्न सेवाश्री सम्मानले सम्मानित विशिष्ट व्यक्तित्वहरूलाई बधाई दिए। आदिकवि भानुभक्त आचार्यको योगदानमाथि बोल्दै आदिकविले संस्कृतिमा सीमित रहेको रामायणलाई सरल र सहज नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषालाई घर-घरमा पुऱ्याएको बताए। यही महान योगदानको कारण उनी आज नेपाली भाषी समुदायका लागि शास्वत स्रोत बनेको उनले बताए।

उनले समाज परिवर्तन गर्नका लागि ठूलो पदको आवश्यकता पर्दैन भने इमानदारी र असल सोच भए पग्छ भनी बताए। उनले सिक्किम नेपाली भाषा र साहित्यको महत्वपूर्ण केन्द्र रहेको उल्लेख गर्दै यहॉं नेपाली भाषा र साहित्य सञ्चारको माध्यम मात्र नभई सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको आधार पनि रहेको बताए। उनले सबैको भाषालाई सम्मान गरेर राष्ट्रिय एकतालाई बलियो बनाउन आह्वान पनि गरे।

आफ्नो सम्बोधनको क्रममा मन्त्री उप्रेतीले आधुनिक शिक्षालाई आत्मसात गर्नुपर्छ, तर आधुनिकताको नाममा आफ्नो भाषा, संस्कृति र मौलिकतालाई बिर्सनु नहुने बताए। उनले भाषा जोगाउने जिम्मेवारी केवल साहित्यकारहरूको मात्र होइन, सम्पूर्ण समाजको रहेको बताए। उनले युवाहरूलाई यस अभियानको नेतृत्व गर्न आह्वान गरे।

उनले विकास भनेको केवल पूर्वाधार विकास मात्र होइन, तर मूल्य, संस्कार, कला र भाषाको संरक्षण गर्नु पनि विकास रहेको बताए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको अगुवाईमा राज्यमा भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवर्धनलाई उच्च प्राथमिकता दिएर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande