
खरसाङ, 13 जुलाई (हि.स.)। खरसाङ कोर्टको इतिहासमा पहिलोपल्ट आदिकवि भानुभक्त आचार्यको जयन्ती मनाइएको छ। खरसाङ कोर्टका वकीलहरुले भानुजयन्ती समारोह आयोजना गरेका हुन्।
खरसाङ कोर्टका जुनियर वकीलहरुको प्रयासमा पहिलोपल्ट आदिकवि भानुभक्त आचार्यको जयन्ती पालन गरिएको हो। कार्यक्रमलाई वरिष्ठ वकील निर्मला अग्रवाल, पवन थापा, प्रणिता लामा र रमेश अग्रवालले सम्बोधन गरेका थिए। वक्ताहरुले नेपाली भाषालाई कोर्टमा प्रयोगमा ल्याउन आह्वान् गर्दै नेपाली भाषालाई महत्व दिनुपर्ने आग्रह गरे।
कार्यक्रममा जुनियर वकीलहरु प्रजल लोप्चन र सोनाली सेञ्चुरीले नृत्य प्रस्तुत गरे भने अमन थापा र साथीहरुले गीत प्रस्तुत गरेका थिए। वकील प्रयास तामाङद्वारा सञ्चालन गरिएको कार्यक्रममा कोर्टका कर्मचारीहरु, सुरक्षाकर्मीहरू, कोर्टका जीआरओ आदि उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक