श्रम विभागका राज्य मन्त्री भास्कर भट्टाचार्य लङ्भ्यूमा चलिरहेको श्रमिकहरुको अनशन स्थल पुगे
Bhaskar Bhattacharjee


खरसाङ, 13 जुलाई (हि.स.)। पश्चिम बंगालको श्रम विभागका राज्य मन्त्री भास्कर भट्टाचार्य आज खरसाङको लङ्भ्यूमा चलिरहेको श्रमिकहरुको अनशन स्थलमा पुगे। उनीसित खरसाङका विधायक सोनाम लामा पनि उपस्थित रहेका थिए।

अनशन स्थलमा पुगेर मन्त्रीले श्रमिकहरुको समस्याबारे जानकारी लिए। अनशनमा बसेका श्रमिकहरु र प्रतिनिधिहरुले श्रमिकहरुका विभिन्न समस्याहरुको विषयमा मन्त्रीलाई अवगत गराएका थिए।

श्रम विभागका राज्य मन्त्री भाष्कर भट्टाचार्यले श्रमिकहरुको समस्या, पीडा तथा मागहरू सुनिदिएकोमा श्रमिकहरूले धन्यवाद एवं आभार व्यक्त गरेका छन्। हिल प्लान्टेशन इम्प्लोइज युनियनले श्रमिकहरूको जीवन र स्वास्थ्यप्रति मन्त्रीले देखाएको मानवीय संवेदनाप्रति उच्च सम्मान व्यक्त गरेको छ।

युनियनले आज प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीको भ्रमणपछि लङ्भ्यु श्रमिकहरूको शाखाको मिटिङ र साधारण सभा सम्पन्न भएको बताएको छ। सभामा पीएफबारे कुनै निर्दिष्ट कदम र भुक्तानीपछि मात्र अनशन उठाउन सम्भव हुने निर्णय लिएको बताइएको छ। यस परिस्थितिलाई मन्त्रीले गम्भीरतापूर्वक बुझिदिन छन् भन्ने युनियनले विश्वास व्यक्त गरेको छ।

युनियनले कानुनबमोजिम बगान मालिकविरुद्ध आवश्यक कारबाही गरी श्रमिकहरूको न्यायोचित मागहरू यथाशीघ्र पूरा गरिदिन मन्त्री समक्ष हार्दिक अनुरोध गरेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande