
खरसाङ, 13 जुलाई (हि.स.)। गोर्खा जनपुस्तकालय खरसाङ र सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमा पश्चिम बंगाल सरकारको संयुक्त आयोजनामा आज खरसाङमा 212औं भानुजयन्ती समारोह सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत पूर्वार्धमा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा आदिकवि भानुभक्त आचार्यको सालिकमा श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरु र साहित्यकारहरु, शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुद्वारा आदि उपस्थित थिए।
कार्यक्रमको उत्तरार्द्धमा पार्क लोकेशनस्थित सामुदायिक भवनमा 212औं भानु जयन्ती समारोह साथै अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष रबीनकुमार प्रधानले गरेका थिए। विशिष्ट अतिथिहरुमा खरसाङ महकुमा शासक प्रिया यादव, खरसाङ महाविद्यालयका प्राचार्य डा समीर बल, वरिष्ठ साहित्यकार पूर्ण गुरुङ 'निरुपम', शताब्दी पुरुष डीएस दर्नाल आदि उपस्थित रहेका थिए।
अतिथिहरुको बाहुलीबाट आदि कवि भानुभक्त आचार्यको कार्यक्रममा आदिकवि भानुभक्त आचार्यमाथि खरसाङ महाविद्यालयका प्राचार्य डा समीर बल र नारी स्रष्टा उषाकिरण सत्यदर्शीले वार्ता प्रस्तुत गरेका थिए। कार्यक्रममा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरियो, जसमा प्रथम सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालय, दोस्रो सन्त अलफन्सस् उच्चतर माध्यमिक विद्यालय, तेस्रो सन्त जेभियर्स उच्चतर माध्यमिक विद्यालय र चौथो पुष्परानी रोय मेमोरियल उच्चतर माध्यमिक विद्यालय बने।
प्रतियोगिताका निर्णायकहरूमा साहित्यकार उषाकिरण सत्यदर्शी, लोक गायिका सुचिता खाती र युवा स्रष्टा सञ्जीव छेत्री रहेका थिए। कार्यक्रममा गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट खरसाङका विधायकलाई सम्मानित गरियो। विधायकको अनुपस्थितिमा उनका प्रतिनिधि आरबी लामाले सम्मान ग्रहण गरे।
हिन्दुस्थान समाचार / हनोक