साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेमा 212औं भानुजयन्ती समारोह सम्पन्न
Bhanu jayanti at tindharia


खरसाङ, 13 जुलाई (हि.स.)। साहित्य कला संस्थान तीनधारेको आयोजनामा आज आदिकवि भानुभक्त आचार्यको 212औं जयन्ती मनाइयो। कार्यक्रमको पूर्वार्धमा तीनधारेको चिल्ड्रेन पार्क परिसरस्थित आदिकवि भानुभक्त आचार्यको सालिकमा श्रद्धाञ्जली अर्पण गरिएको थियो।

उत्तरार्धको कार्यक्रम महात्मा गान्धी हलमा सम्पन्न भयो। उक्त कार्यक्रममा सभाध्यक्षको रुपमा साहित्य कला संस्थान तीनधारेका सभापति रञ्जनकुमार रसाइली अनि प्रमुख अतिथिको रुपमा तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान शिक्षिका उर्मिला लामा उपस्थित रहेकी थिइन्।

कार्यक्रममा रामायण पाठ तीनधारे गैरी गाउँका नवराज राई र समूहले गरका थिए। कार्यक्रममा साहित्य कला संस्थानको तर्फबाट पूर्व सभासद एवं पूर्व फुटबल खेलाडी नवराज छेत्री र नवराज राई कृतज्ञता ज्ञापन गर्दै खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।

कार्यक्रममा तीनधारे र घैयाबारी क्षेत्रका विद्यालयहरु क्रमैले तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय, रेणुका कन्या उच्च विद्यालय, ब्लु डायमण्ड अंग्रेजी स्कूल घैयाबारी आदिका विद्यार्थीहरुले कविता, गीत, लोक नृत्य प्रस्तुत गरेका थिए भने तीनधारे चियाबारीका सक्षम मंगरले लोक गीत प्रस्तुत गरेका थिए।

प्रमुख अतिथि प्रधान शिक्षिका उर्मिला लामाले आफ्नो सम्बोधनमा नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको बहुमूल्य योगदान रहेको र उनको छुट्टै स्थान रहेको बताइन्। उनले आदिकवि भानुभक्त आचार्य कवि मात्र नभएर नेपाली भाषा साहित्य र राष्ट्रिय चेतनाका अभियन्ता थिए भनी बताइन्।

उनले विद्यार्थीहरुलाई सम्बोधन गर्दै भनिन्, 'आज भानुजयन्ती पालन गरेर भोलिदेखि भानुभक्तलाई बिर्सेर हुँदैन। आफ्नो भाषा, संस्कृति र साहित्यको संरक्षण गर्न सिक्नुपर्छ। आजको युगमा विद्यार्थीहरुले आधुनिक तक्निकी शिक्षासितै आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति रूचि राख्नुपर्छ। पुस्तक पढ्न लेख्ने र सिर्जनशील बन्ने बानी बसाल्नुपर्छ।'

कार्यक्रममा सभाध्यक्ष रञ्जनकुमार रसाइलीले पनि वक्तव्य राखेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande