सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो


गान्तोक, 13 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको साहित्य परिषद्को आयोजनामा आज २१२औँ भानुजयन्ती पार्टीको मुख्य कार्यालयमा मनाइयो। कार्यक्रममा पार्टीका अध्यक्ष गणेशकुमार राई मुख्य अतिथि तथा गोपी चौहान र विष्णु प्रसाद शर्मा विशिष्ट अतिथि थिए।

कार्यक्रममा योगेश खतिवडाले आदिकवि भानुभक्त आचार्यको जीवन, व्यक्तित्व तथा नेपाली भाषा–साहित्यप्रतिको अतुलनीय योगदानमाथि प्रकाश पारे। यसरी नै दिपेन्द्र राईले भानुभक्तको जीवनी तथा कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै भाषा र साहित्यको संरक्षण एवं संवर्द्धन वर्तमान पुस्ताको प्रमुख दायित्व भएको उल्लेख गरे।

विशिष्ट अतिथि विष्णु प्रसाद शर्माले भानुभक्तीय रामायणमाथि टिप्पणी गर्दै यसको साहित्यिक तथा सामाजिक महत्वबारे विचार व्यक्त गरे। विशिष्ट अतिथि गोपी चौहानले भानुभक्तीय रामायणका पात्रहरूको चरित्र, आदर्श र कर्तव्यबोधबाट वर्तमान समाजले शिक्षा लिनुपर्ने आवश्यकता औँल्याउँदै राज्य र राष्ट्रको हितमा समर्पित भएर कार्य गर्न सबैलाई आग्रह गरे।

संगठनका महासचिव चुडामणि मिश्रले भानुजयन्ती मनाउनुको मूल औचित्य र विशेषताबारे प्रकाश पार्दै एक दिन उत्सवका रूपमा भानुजयन्ती मनाएर बाँकी ३६४ दिन भाषा र साहित्यलाई उपेक्षा गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे। उनले नेपाली भाषा, साहित्य र संस्कृतिको निरन्तर संरक्षण तथा प्रवर्द्धनमा सबैले प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।

वक्ताहरूले भानुभक्त आचार्यले रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली समाजलाई अमूल्य साहित्यिक सम्पदा प्रदान गरेको स्मरण गर्दै रामायणलाई केवल पूजा गर्ने ग्रन्थका रूपमा सीमित नराखी त्यसमा निहित आदर्श, चरित्र, सुशासन, दायित्वबोध, सत्यको विजय, निस्वार्थ सेवा, महिला सम्मान तथा अहंकार त्यागजस्ता जीवनमूल्यलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा दिपेन्द्र राई, जिग्मी डी. भोटिया, बीरबल तामाङ र बिना शर्माले कविता पाठ गरे। कार्यक्रममा भाषा–साहित्यप्रेमी, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको प्रेस विज्ञप्तिमा बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande