प्रदेश भाजपा अध्यक्षले राबोङमा पैह्रो प्रभावित लिङ्जू प्राथमिक पाठशालाको भ्रमण गरे
प्रदेश भाजपा अध्यक्षले राबोङमा पैह्रो प्रभावित लिङ्जू प्राथमिक पाठशालाको भ्रमण गरे


गान्तोक, 10 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमको एक प्रतिनिधिमण्डलले आज दक्षिण सिक्किमको राबोङस्थित लिङ्जू प्राथमिक पाठशालाको भ्रमण गरेको छ। भाजपा प्रतिनिधिमण्डलको अगुवाई प्रदेश अध्यक्ष डीआर थापाले गरेको थियो। स्थानीय बासिन्दाहरूको बारम्बार अनुरोधमा भाजपा प्रतिनिधिमण्डलले 5 जुलाईमा भएको भारी वर्षा र पैह्रोले भएको क्षतिको मूल्याङ्कन गर्न भ्रमण गरेको बताइएको छ।

भ्रमणको क्रममा प्रतिनिधिमण्डलले स्कूल परिसर, खेल मैदान र वरपरका क्षेत्रहरूको निरीक्षण गर्दै स्थानीय बासिन्दाहरू र अन्य सरोकारवालाहरूसँग अन्तरक्रिया गऱ्यो। भारी वर्षाले स्कूल भवन, खेल मैदान र नजिकैको अलैंची खेतहरूमा व्यापक क्षति पुर्‍याएको देखिएको विज्ञप्तिमा उल्लेख छ, जसले शैक्षिक पूर्वाधार र स्थानीय किसानहरूको जीविकोपार्जन दुवैलाई गम्भीर रूपमा असर पारेको छ।

स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रदेश अध्यक्ष थापाले सम्बन्धित सडक निर्माण कम्पनी र जिम्मेवार विभागलाई ढल निकासी व्यवस्थित गर्न, क्षतिग्रस्त विद्यालय पूर्वाधारको तत्काल मर्मत गर्न र प्रभावित किसानहरूलाई उनीहरूको अलैंची बाली क्षतिको लागि उचित क्षतिपूर्ति प्रदान गर्न आग्रह गरेका छन्।

भाजपा सिक्किमले कठिन समयमा जनताको साथमा उभिने आफ्नो प्रतिबद्धता दोहोर्‍याउॅंदै समयमै कारबाही सुनिश्चित गर्न र प्रभावित समुदायको हितको रक्षा गर्न सम्बन्धित अधिकारीहरूसँग यस विषयमा कडाइका साथ अगाडि बढ्ने आश्वासन दिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande