
कोलकाता, 11 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा मनसुन पूर्ण रूपमा सक्रिय भएको छ जसको प्रभावले राज्यका अधिकांश भागहरूमा आगामी 24देखि 48 घण्टाको अवधिमा हल्कादेखि मध्यम तथा कतिपय स्थानहरूमा घना वर्षा हुने सम्भावना छ। भारतीय मौसम विभाग अनुसार उत्तर बङ्गालका पर्वतीय जिल्लाहरूमा मुसलाधारे पानीको सिलसिला जारी रहनेछ भने दक्षिण बङ्गालका विभिन्न जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। तथापि वर्षा भए पनि हावामा अत्यधिक आद्रता भएको कारणले मानिसहरूलाई बाफिलो गर्मीको सामना गर्न परिरहेको छ।
उत्तर बङ्गालका जिल्लाहरूमा मनसुन सबैभन्दा बढ़ी सक्रिय भएको देखिंदैछ। अलिपुरद्वार, जलपाईगुड़ी औ कुचबिहार जिल्लाका केही स्थानहरूमा अत्यधिक वर्षाको सम्भावनालाई केन्द्र गर्दै सतर्कता जारी गरिएको छ। दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार, जलपाईगुड़ी तथा कुचबिहार जिल्लामा लगातार परिरहेको पानीले नदी-नालाहरूको जलस्तर बढ़ेको छ।
प्रशासनले दार्जीलिङ अनि कालेबुङका संवेदनशील पार्वतीय मार्गहरूमा पैह्रो जाने आशङ्कालाई ध्यानमा राख्दै पर्यटक अनि स्थानीय मानिसहरूलाई सतर्क रहने सल्लाह दिएकोछ। मालदा र उत्तर अनि दक्षिण दिनाजपुर जिल्लामा पनि मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ।
राजधानी कोलकाता सहित दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा शनिवार बिहानदेखिकै आकाशमा बादल लागेको छ। मौसम वैज्ञानिकहरू अनुसार दिनभरि रोकिँदै पानी पर्ने तथा तीव्र हावा-पानी आउने सम्भावना छ।
कोलकाता, हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा तथा पश्चिम बर्धमान जिल्लामा गर्जन-तर्जन औ वज्रपात हुने चेतावनी जारी गरिएको छ।
अलिपुर मौसम कार्यालय अनुसार बङ्गालको खाड़ीबाट लगातार आइरहेको नमीले गर्दा राज्यमा आगामी तीन दिनसम्म मौसमको रूप यस्तै रहने सम्भावना छ। समुद्रमा अग्ला-अग्ला छालहरू उठ्ने आशङ्कालाई मध्यनजर गर्दै मछुआराहरूलाई गहिरो समुद्रमा नजाने सल्लाह दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा