
कोकराझाड़ (असम), 11 जुलाई (हि.स.)। बोड़ोल्याण्ड क्षेत्रका युवाहरूको लागि ठूलो खुशीको खबर छ। पछिल्लो लामो समयदेखिकै उठ्दै आएको मागलाई पूरा गर्दै केन्द्रिय रेल मन्त्रालयले कोकराझाड़मा रेलवे भर्ती बोर्ड (आरआरबी) परीक्षा केन्द्र स्थापनालाई औपचारिक स्वीकृति दिएको छ।
यस आशयको जानकारी सांसद प्रमोद बोडोले सोशल मीडियाको माध्यमबाट साझा गरे। उनले भने, बीटीसीमा यूपीपीएल नेतृत्वाधिन सरकारको कार्यकालमा गरिएका विशेष प्रयासहरूको कारणले यो उपलब्धि सम्भव हुन सकेको हो। यो निर्णयले क्षेत्रका शिक्षित युवाहरूको लागि रेलवेमा रोजगारको नयाँ अवसर प्रदान गर्नेछ।
सांसदले केन्द्रिय रेल मन्त्री अश्विनी वैष्ण तथा रेलवे बोर्डका अध्यक्ष एवं मुख् कार्यकारी अधिकारी (सीईओ) सतीश कुमारप्रति आभार व्यक्त गरे। उनले भने, कोकराझाड़मा परीक्षा केन्द्र स्थापना भएपछि उम्मेद्वारहरूलाई सरकारी भर्ती परीक्षाका लागि टाढ़ा जान पर्दैन जसबाट बोड़ोल्याण्डका हजारौं युवाहरूलाई सोझै लाभ प्राप्त हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा