डा आशा मुखिया लामाद्वारा सम्पादित पूर्ण गुरुङ 'निरुपम' अभिनन्दन ग्रन्थ 'पूर्ण परिचय' को लोकार्पण
डा आशा मुखिया लामाद्वारा सम्पादित पूर्ण गुरुङ 'निरुपम' अभिनन्दन ग्रन्थ 'पूर्ण परिचय' को लोकार्पण


खरसाङ, 11 जुलाई (हि.स.)। खरसाङकी नारी स्रष्टा, साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिकी सदस्या एवं गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा डा. आशा मुखिया लामाद्वारा सम्पादित पूर्ण गुरुङ 'निरुपम' अभिनन्दन ग्रन्थ पूर्ण परिचय लोकार्पण गरिएको छ। उक्त अभिनन्दन ग्रन्थको लोकार्पण आज गोर्खा जनपुस्तकालय खरसाङको डा पारसमणि प्रधान प्रेक्षागृहमा गरियो।

लोकार्पण कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार जीबी बलले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार राजु प्रधान 'हिमांशु' उपस्थित रहेका थिए। कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि र आमन्त्रित अतिथिहरूको बाहुलीद्वारा अभिनन्दन ग्रन्थ 'पूर्ण परिचय' को लोकार्पण गरियो।

कार्यक्रममा सम्पादिकाको पक्षमा बोल्दै आशा मुखिया लामाले यस अभिनन्दन ग्रन्थ प्रकाशित गर्न अनुमति दिने पूर्ण गुरुङ 'निरुपम', प्रकाशक पति पारस लामा, लेखकहरु र उपस्थित सबैलाई धन्यवाद दिइन्। उनले पूर्ण गुरुङ 'निरुपम' जस्ता वरिष्ठ साहित्यकार, नाटककार, नाट्यकर्मी, नाट्य निर्देशक र नाट्य कलाकारको अभिनन्दन ग्रन्थ 'पूर्ण परिचय' सम्पादन गर्न पाउनु खुशी लागेको बताउँदै पुस्तक तयार गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्।

कार्यक्रममा वरिष्ठ साहित्यकार एवं नाट्यकर्मी पूर्ण गुरुङ 'निरुपम' ले आफ्नो सम्बोधनमा भने, आफ्नो अभिनन्दन ग्रन्थ प्रकाशित भएर सम्मानित भएकोमा सबैभन्दा ठूलो सम्मान पाएको अनुभव भएको छ। सम्पादिका आशा बाहिनी र प्रकाशक पारस लामालाई धेरै धन्यवाद छ र म आजीवन ऋणी रहनेछु। यसले गर्दा मैले जीवनमा केही गरेछु भन्ने लागेको छ। यो मैले कहिले पनि नसोचेको कुरा हो।'

पूर्ण गुरुङ 'निरुपम' ले अघि भने, यो अभिनन्दन ग्रन्थ प्रकाशित हुनु भनेको पुरस्कार पाउनुभन्दा पनि ठूलो हो। यसको कुनै आयतन हुँदैन। म खुशी छु।' उनले अझ भने, मेरो नाट्य जीवनमा जागृति परिवारको महत्वपूर्ण भूमिका रहेको छ। 29-30 वर्षमा ठूलो काम गरेछौँ भन्ने लागेको छ।'

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ साहित्यकार राजु प्रधान 'हिमांशु' ले आफ्नो सम्बोधनमा भने, हामीले रंगमञ्चको साहित्य र रंगमञ्चको इतिहासलाई बचाएर राख्नुपर्छ। संरक्षण गरेर लानुपर्छ। खरसाङमा पहिलो नाटक कुन हो भन्ने विषयमा डा जस योञ्जन प्यासी सरले माध्यम पत्रिकामा लेख्नु भएको छ। उहाँ अनुसार, खरसाङमा पहिलो नाटक डा पारसमणि प्रधानद्वारा लिखित नाटक सुन्दर कुमार हो, जुन 1 जनवरी 1919 मा मञ्चन गरिएको थियो। खरसाङमा नाटकको 107 वर्षको इतिहासमा पूर्ण गुरुङ 'निरुपम' ले मात्र 30 वर्षको योगदान दिएका छन्।'

राजु प्रधान 'हिमांशु' ले अघि भने, पूर्ण गुरुङ 'निरुपम' ले साहित्यकार र नाटकारहरुलाई हौसला र प्रेरणा दिनु भएको छ। आशा मुखिया लामाद्वारा सम्पादित र पारस लामाद्वारा प्रकाशित पूर्ण गुरुङ 'निरुपम' अभिनन्दन ग्रन्थ 'पूर्ण परिचय' ले सर्जकलाई अझैं दायित्व बोध भएको छ भन्ने आशा छ।' उनले जागृति परिवार र पूर्ण गुरुङ 'निरुपम' पर्यावाची शब्द हो भनीे बताएका छन्। कार्यक्रममा सभाध्यक्ष वरिष्ठ साहित्यकार जीबी बलले आफ्नो सम्बोधनमा खरसाङमा सम्भवत: यो चौथो अभिनन्दन ग्रन्थ रहेको बताए। कार्यक्रममा दार्जिलिङ, सोनादा, खरसाङ, सिक्किमबाट पनि साहित्यकारहरु उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande