
गेजिङ, 11 जुलाई (हि.स.)। आदिकवि भानुभक्त आचार्यको २१२औँ जयन्ती २०२६ लाई भव्य, सभ्य र गरिमामय ढङ्गले मनाउने उद्देश्यका साथ गेजिङ जिल्लामा विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू उत्साहपूर्ण रूपमा सञ्चालन भइरहेका छन्।
यसै क्रममा आज पश्चिम सिक्किम साहित्य प्रकाशन, गेजिङ तथा जिल्ला प्रशासन कार्यालय गेजिङको संयुक्त आयोजनामा क्योङ्सास्थित विश्वकै सबैभन्दा ठूलो भानु शालिग परिसरमा भारतीय नेपाली साहित्यिक एवं सांस्कृतिक अनुसन्धान केन्द्रको बहुउद्देश्यीय प्रेक्षागृहमा अन्तर–प्राथमिक विद्यालयस्तरीय तथा खुल्ला रामायण पाठ प्रतियोगिता, खुल्ला तथा विद्यार्थीस्तरीय कथा, निबन्ध र कविता वाचन प्रतियोगिता सम्पन्न भयो। साथै, विभिन्न विद्यालयमा विद्यालयस्तरीय लोकगीत प्रतियोगिता समेत सफलतापूर्वक आयोजना गरिएको छ।
प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरू तथा स्थानीय संघ-संस्थाका प्रतिनिधिहरूले आदिकवि भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवादित रामायणका श्लोकहरू अत्यन्त भावपूर्ण श्रद्धापूर्वक तथा उत्कृष्ट शैलीमा वाचन गरे।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्ने सबै प्रतियोगीहरूले आगामी १३ जुलाईमा आयोजना हुने जिल्लास्तरीय भानु जयन्ती समारोहमा विशेष प्रस्तुति दिने आयोजकले जनाएको छ। आयोजकका अनुसार, यस प्रकारका साहित्यिक तथा सांस्कृतिक गतिविधिले विद्यार्थीहरूमा नेपाली भाषा, साहित्य, संस्कार र संस्कृतिप्रतिको लगाव अभिवृद्धि गर्नुका साथै आदिकवि भानुभक्त आचार्यको अमूल्य योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।
हिन्दुस्थान समाचार / बिशाल