
गान्तोक, 11 जुलाई (हि.स.)। प्रेस क्लब अफ् सिक्किम (पीसीएस) को नवनिर्वाचित कार्यकारी सदस्यहरूले आज लोकभवनमा राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गऱ्यो। पीसीएस प्रतिनिधिमण्डलको अगुवाई संस्थाका अध्यक्ष समीरहाङ सुब्बाले गरेको थियो।
लोकभवनका अनुसार, पीसीएस अध्यक्षले राज्यपाललाई प्रेस क्लबका गतिविधि र कामकाजहरूको बारेमा जानकारी दिए। उनले राज्यपाललाई यसै महिना आगामी 17 जुलाईमा आयोजित हुने प्रेस क्लबको 24औं स्थापना दिवसमा मुख्य अतिथिका रूपमा सामेल हुने औपचारिक रूपमा निमन्त्रणा दिए।
राज्यपालले अध्यक्ष र नयॉं कार्यकारी सदस्यहरूलाई बधाई दिए। उनले पत्रकारहरूलाई सिक्किमको समृद्ध पहिचान र अन्य विकास कार्यहरूलाई राष्ट्रिय मिडियामा उजागर गर्न जोड दिए। उनले बद्लिॅंदो समय र परिस्थितिहरूमा पत्रकारिताका मूल मूल्यहरूलाई कायम राख्नुको आवश्यकतामा पनि जोड दिए।
भारत र चीनबीच 1967 मा भएको लडाईको उल्लेख गर्दै राज्यपालले भने, 'देशका धेरै मानिसहरू अझै पनि सिक्किमको समृद्ध सैन्य इतिहास र अन्य विभिन्न तथ्यहरूबारे अनजान छन्, जसमा भारतले मेजर जनरल सगत सिंहको वीर नेतृत्वमा चीन विरुद्ध लडाई जितेको थियो। युवाहरूलाई प्रेरित गर्न र उनीहरूमा राष्ट्रभक्तिको भावनालाई दह्रिलो बनाउन सशस्त्र बलहरूका यस्ता शौर्य गाथालाई मिडियामा प्रमुखताका साथ देखाइनु पर्छ।'
राज्यपालले अझ भने, 'सिक्किममा विभिन्न क्षेत्रहरूमा अपार सम्भावना छन्, जसलाई राष्ट्रिय स्तरमा प्रचारित र प्रसारित गर्नुपर्ने आवश्यकता छ।' राज्यपालले पत्रकारिताको डिजिटल युगको बारेमा कुरा गर्दै अहिले क्रान्ति आएको र यसले पत्रकारितालाई नयॉं रूप दिएको बताए। उनले इन्टरनेटलाई सशक्त माध्यम बताउॅंदै भने, 'यो माध्यमले वास्तविक समयमा समाचार प्रसारित गर्ने असीमित अवसर प्रदान गर्दछ।' उनले पत्रकारहरूलाई राज्यको व्यापक कभरेजका लागि यी मञ्चहरूको जिम्मेवारीका साथ उपयोग गर्न आग्रह गरे।
हिन्दुस्थान समाचार / बिशाल