
गान्तोक, 12 जुलाई (हि.स.)। बास्केटबल एसोसिएसन अफ सिक्किम (बीएएस) द्वारा आयोजित नवौं सिक्किम राज्य बास्केटबल लिग २०२६ आज गान्तोकस्थित पाल्जोर स्टेडियममा औपचारिक रूपमा शुरु भयो। उद्घाटन कार्यक्रममा गान्तोकका विधायक दि ले नामग्याल बारफुङ्पाले मुख्य अतिथिका रूपमा सहभागिता जनाए।
कार्यक्रममा सिम्फेडका अध्यक्ष तथा बीएएसका प्रमुख संरक्षक तेन्जिङ दोर्जी भोटिया, राज्य खेलकुद विकास बोर्डका अध्यक्ष रिन्जिङ वाङ्ग्याल छोपेल, गान्तोक नगर निगमका आयुक्त ग्यारी छोपेल तथा बीएएसका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
उद्घाटन दिनका खेलहरूमा सिक्किम ब्वाइजले की-डी-खाङ ब्वाइजलाई ७२-२५ ले पराजित गर्यो। उक्त खेलमा निमा र रोहितले समान २२-२२ अंक जोड्दै उत्कृष्ट प्रदर्शन गरे। अर्को खेलमा ताक्त्से ब्वाइजले मञ्जुश्री पब्लिक स्कूललाई ५८-४० ले हरायो, जसमा आर्यन प्रसादले १६ अंक जोड्दै टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे।
यसरी नै डेमी मङ्क्सले हाउन्ड्सलाई ४४-३६ ले पराजित गर्यो। उक्त खेलमा खामसुम सर्वाधिक अंककर्ताका रूपमा रहे। त्यसैगरी हिसे वाङ्ग्यालको उत्कृष्ट प्रदर्शनमा रेभेन्सले येटिसलाई ८०-५१ ले हरायो।
दिनको अन्तिम खेलमा डेन्जोङ सिङ्ग्येसले ड्रुक स्क्वाडलाई ८८-२७ को फराकिलो अन्तरले पराजित गर्यो। उक्त खेलमा सावियोले सबैभन्दा बढी व्यक्तिगत अंक हासिल गरे।
यस वर्षको नवौं संस्करणमा कुल २३ टोली सहभागी छन्, जसमा १९ पुरुष टोली र चार महिला टोली रहेका छन्।
यसपटक बीएएसले पहिलोपटक 'ए' डिभिजन र 'बी' डिभिजन गरी दुई तहको नयाँ प्रतियोगिता प्रणाली लागू गरेको छ। शीर्ष आठ टोली 'ए' डिभिजनमा प्रतिस्पर्धा गरिरहेका छन् भने बाँकी ११ टोली 'बी' डिभिजनमा छन्।
यो लिग आगामी तीन महिनासम्म सप्ताहन्त तथा सरकारी बिदाका दिनहरूमा सञ्चालन हुने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल