
नयाँ दिल्ली, 12 जुलाई (हि.स.)। उत्तर-पश्चिमी दिल्लीको आदर्श नगर थाना क्षेत्रस्थित मजलिस पार्कमा गए शनिवार राती एउटा घरमा भएको आगलागीको घटनाले सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचियो। दनदनी आगो बलिरहेको बेला सिलेण्डर विस्फोट भएर वरपरका मानिसहरू पनि भयभित भए। साँघुरो गल्ली भएको कारणले दमकल कर्मीहरूलाई घटनास्थलसम्म पुग्नमा धेरै परिश्रम गर्नुपऱ्यो। तथापि दिल्ली पुलिसको तत्परता, समयमै मानिसहरू बाहिर आउनाले तथा दमकल विभागको संयुक्त प्रयासले ठूलो दुर्घटना हुनदेखि बच्यो। घटनामा कुनै पनि प्रकारको जनहानि भएको समाचार छैन।
पुलिस अनुसार राती लगभग 9:18 बजे पीसीआरमा सूचना प्राप्त भयो कि मजलिस पार्कको गल्ली नम्बर-10 स्थित घर नम्बर सी-504मा आगो लागेको छ। सूचना पाउनसाथ आदर्श नगर थाना पुलिस तत्काल घटनास्थलमा पुग्यो। द्रूत गतिमा फैलिरहेको आगोले सम्पूर्ण घरलाई आफ्नो चपेटमा लिएको देखेपछि 25 जना पुलिसकर्मीहरूलाई राहत अनि बचाउ कार्यमा खटाइयो। पुलिसले सबैभन्दा पहिला वरपरका घरहरूमा बस्ने मानिसहरूलाई सुरक्षित बाहिर निकाल्यो अनि क्षेत्रमा भीड़लाई नियन्त्रण गऱ्यो। आगो लागेको खबर फैलिनसाथ घटनास्थलमा मानिसहरूको ओइरो लाग्यो जसले गर्दा स्थिति अझ चुनौतीपूर्ण भयो।
साँघुरो गल्लीको कारणले दमकल वाहनहरूलाई घटनास्थलसम्म पुग्न गाह्रो भयो। यसबीच पुलिसकर्मीहरूले परवर उपलब्ध पानीका पाइपहरूले आगोलाई निभाउने प्रयास गरे। राहत कार्य भइरहँदा अचानक घरभित्र एलपीजी सिलेण्डर विस्फोट भयो। विस्फोट पश्चात पुलिसकर्मीहरूलाई हटाएर सुरक्षित स्थानमा राखियो। त्यसपछि दमकल विभागको टीमले आगो निभाउने अभियान शुरू गऱ्यो।
पुलिस अनुसार आगलागीको कारण पत्तो लगाउन जाँच गरिँदैछ। हाल यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा