
गान्तोक, 12 जुलाई (हि.स.)। वन तथा पर्यावरण विभागअन्तर्गत गान्तोक क्षेत्रीय वन डिभिजनले ‘सिक्किम पर्यावरण पर्व २०२६’ को अवसरमा डिभिजनअन्तर्गतका विभिन्न रेञ्जहरूमा वृक्षारोपण तथा सरसफाई अभियान सञ्चालन गर्दै पर्यावरण संरक्षण र दिगो वन व्यवस्थापनप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
यस क्रममा सिङ्ताम रेञ्ज अन्तर्गत लोअर खाम्दोङ आरक्षित वनमा सामुदायिक वृक्षारोपण कार्यक्रम तथा ‘मेरो रुख मेरो सन्तति’ (एमआरएमएस) ब्याङ्क पासबुक वितरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा क्षेत्र विधायक तथा सडक एवं पुलमन्त्री एनबी दाहाल, वन विभागका अधिकारीहरू, नवजात शिशुका अभिभावक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रमले एमआरएमएस पहलमार्फत वन र पर्यावरण संरक्षणमा समुदायको सक्रिय सहभागिताको महत्वलाई जोड दिएकाे थियाे। नवजात शिशुका अभिभावकलाई एमआरएमएस ब्याङ्क पासबुक वितरणसँगै सञ्चालन गरिएको वृक्षारोपण अभियानले वन विभाग, स्थानीय प्रशासन, सामुदायिक संस्थाहरू र सर्वसाधारणबीच हरित तथा दिगो भविष्य निर्माणप्रतिको साझा प्रतिबद्धतालाई थप सुदृढ़ बनाएको बताइएको छ।
यसैगरी, गान्तोक रेञ्ज अन्तर्गत याली आरक्षित वनमा एमआरएमएस वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो। वनकर्मी तथा लाभार्थीहरूले पानीसाज, बांगी, पम्प्सी र ओखरजस्ता स्थानीय प्रजातिका बिरुवाहरू रोपे। यस पहलको माध्यमद्वारा बच्चा जन्मिएको अवसरमा बिरुवा रोपेर हुर्काउने परम्परालाई प्रोत्साहन गरिन्छ, जसले परिवारको वृद्धि र पर्यावरणीय संरक्षणबीचको सम्बन्धलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ।
यसैबीच, क्योङ्नोस्ला रेञ्जले रेञ्ज अफिसरको नेतृत्वमा नथुला क्षेत्रमा सरसफाईइ अभियान सञ्चालन गर्यो। पर्यटकीय सिजनमा जम्मा भएको फोहोर संकलन गरी हटाउने उद्देश्यले सञ्चालन गरिएको अभियानले उक्त क्षेत्रको पर्यावरणीय सन्तुलन र प्राकृतिक सौन्दर्य संरक्षणमा योगदान पुर्याएको छ।
रानीपुल रेञ्जले ९ माइल खासमाल क्षेत्रमा एमआरएमएस वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दियो। वनकर्मीहरूले वैज्ञानिक विधिअनुसार पानीसाज, मालागिरी, नेबारा, चेरी लगायत अन्य उपयुक्त स्थानीय प्रजातिका बिरुवाहरू रोपे, जसले बिरुवाको राम्रो वृद्धि र उच्च बाँच्ने दर सुनिश्चित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल