
गान्तोक, 13 जुलाई (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर आज गान्तोकस्थित भानु उद्यानमा आयोजित २१२औँ भानु जयन्ती समारोहमा सहभागी बने।
यस अवसरमा राज्यपालले नेपाली साहित्यका अग्रदूत तथा आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे।
कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल-थानीको निधनप्रति भारत सरकारले घोषणा गरेको एकदिने राष्ट्रिय शोकको सम्मानस्वरूप यस वर्षको आधिकारिक कार्यक्रम संक्षिप्त रूपमा आयोजना गरिएको थियो।
समारोहमा सिक्किम सरकारका ग्रामीण विकास विभागका मन्त्री अरुण उप्रेती तथा जनस्वास्थ्य अभियान्त्रिकी विभागका मन्त्री सोनाम लामा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। साथै गान्तोकक विधायक दिले नामग्याल बारफुङ्पा, स्यारी विधानसभा निर्वाचन क्षेत्रका विधायक तेन्जिङ लाम्था, विभिन्न सरकारी विभागका वरिष्ठ अधिकारीहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष हरि ढुङ्गेल, कार्यसमिति सदस्यहरू तथा स्थानीय साहित्यकारहरूको उपस्थिति रहेको थियो।
भानु उद्यानमा श्रद्धाञ्जली कार्यक्रम समापन भएपछि शोभायात्रा निकालियो, जुन राजधानीको परिक्रमापछि मनन केन्द्र पुगेर समाप्त भयो। शोभायात्रामा विभिन्न विद्यालयलाई विद्यार्थीहरू र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी बनेका थिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल