
तिनसुकिया (असम), १३ जुलाई (हि.स.)। तिनसुकिया पुलिसले विश्वसनीय सूचनाका आधारमा ठूलो कारबाही गर्दै गेलपोखरी पुलिस थानाको र बारेकुरी पुलिस थानाको संयुक्त टोली मार्फत बिहानै छापा मारी तेल पाइपलाइनबाट अवैध रूपमा कन्डेन्सेट चोरी गर्ने गिरोहको पर्दाफास गरेको छ। कारबाहीका क्रममा एक जना आरोपीलाई पक्राउ गरिएको छ।
पुलिस अनुसार, छापामारीको क्रममा अन्य आरोपीहरू घटनास्थलबाट फरार भएका छन्। यस सम्बन्धमा मुद्दा दर्ता गरिएको छ भने फरार आरोपीहरूको खोजीका साथै घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ।
कारबाहीका क्रममा पुलिसले घटनास्थलबाट करिब १,४५० लिटर कन्डेन्सेट, ५० लिटर क्षमताका २५ वटा भरिएका प्लास्टिक ग्यालन, ५० लिटर क्षमताका १० वटा खाली प्लास्टिक ग्यालन, एक ड्रम, तेल पाइपलाइनसँग अवैध रूपमा जडान गरिएको एक होज पाइप तथा अवैध रूपमा कन्डेन्सेट निकाल्न प्रयोग गरिएको हस्तनिर्मित फिल्टरिङ उपकरण जफत गरेको छ।
पुलिसले अवैध कन्डेन्सेट चोरीको यस सञ्जालसँग संलग्न अन्य आरोपीहरूको पहिचान गरी उनीहरूलाई छिट्टै पक्राउ गर्न प्रयास जारी रहेको जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी