
कोलकाता, १३ जुलाई (हि.स.)। उत्तर दमदम क्षेत्रमा सोमवार बिहान सबेरै भएको गोलीकाण्डमा कुख्यात अपराधी राजा दत्तको मृत्यु भएको छ भने उसका दुई सहयोगी गम्भीर घाइते भएको छ।
पुलिस सूत्र अनुसार, बेलघरिया एक्सप्रेसवेको खलिसाकोटा क्षेत्रमा बिहान गोली चलाइएको घटना भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ पुलिस टोली घटनास्थलमा पुग्यो र घाइतेहरूलाई उद्धार गरी आरजीकर अस्पताल पुर्यायो। अस्पतालमा चिकित्सकहरूले राजा दत्तलाई मृत घोषणा गरे भने अन्य दुई घाइतेको उपचार जारी रहेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा राजा दत्त मोटरसाइकलमा सवार भएर घटनास्थलमा पुगेको खुलेको छ। आरोप अनुसार उसको आफ्नै पेस्तोल खोसेर उमाथि गोली प्रहार गरिएको थियो। घटनामा ‘सुमन’ नामक एक अपराधीको संलग्नता रहेको आशंका गरिएको छ। पुलिस सूत्र अनुसार, राजा दत्त र सुमनबीच पुरानो दुश्मनी रहेको थियो।
घटनापछि पुलिसले धेरै व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ शुरु गरेको छ। साथै सम्पूर्ण क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ र घटनाको विस्तृत अनुसन्धान जारी रहेको पुलिसले बताएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी