

गान्तोक, 13 जुलाई (हि.स.)। साहित्यकार एवं भाषासेवी सुकराज सुब्बालाई 'भानु पुरस्कार' ले अलङ्कृत गरिएको छ। राजधानीको मनन केन्द्रमा सोमवार आयोजित 212औं भानुजयन्ती समारोहमा सुब्बालाई प्रतिष्ठित भानु पुरस्कारले अलङ्कृत गरिएको हो। परिषद्ले सन् 1985 देखि भानु पुरस्कार प्रदान गर्दै आएको छ।
नेपाली साहित्य परिषद्, सिक्किमले आज राजधानीमा आदिकवि भानुभक्त आचार्यको 212औं जयन्ती मनायो। बिहान यहॉंको भानु उद्यानमा आयोजित पूर्वार्धको कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि थिए। राज्यपाल लगायत अन्य अतिथिहरूले आदिकवि भानुभक्त आचार्यको सालिकमा खादा एवं पुष्प अर्पण गरेर श्रद्धाञ्जलि अर्पित गरे।
भानु उद्यानदेखि एक भव्य शोभायात्रा पनि निकालियो। बिहानदेखि लगातार पानी परेको भए तापनि विभिन्न विद्यालयका विद्यार्थीहरू तथा अन्यहरूले शोभायात्रामा उत्साहका साथ भाग लिए। जिरो पोइन्ट, तिब्बत पथ, हस्पिटल डॉंड़ा हुॅंदै मनन केन्द्रमा आइपुगेर शोभायात्रा समाप्त भयो। मनन केन्द्रमा उत्तरार्धको कार्यक्रम सम्पन्न भयो, जसमा भानु पुरस्कार अलङ्करणका साथै विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई सम्मान प्रमुख आकर्षण थियो।
कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित ग्रामीण विकास विभागका मन्त्री अरुण कुमार उप्रेतीको बाहुलीद्वारा साहित्यकार एवं भाषासेवी सुकराज सुब्बालाई भानु पुरस्कारले अलङ्कृत गरियो। पुरस्कार स्वरूप अङ्गवस्त्र, स्मृति चिह्न, प्रशस्ती पत्र र नगद 51 हजार रूपियॉं अर्पण गरियो।
अवकाशप्राप्त मुख्य अभियन्ता एसआर सुब्बाको जन्म 20 जून, 1945 मा पश्चिम सिक्किमको मलबॉंसे बस्तीमा भएको थियो। विद्यार्थी जीवनदेखि नै उनी सामाजिक, साहित्यिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय रहॅंदै नेपाली र लिम्बू भाषा-साहित्यको संरक्षण, संवर्द्धन तथा विकासमा समर्पित रहॅंदै आएका छन्। उनी 2019 देखि 2025 सिक्किम अकादेमीका अध्यक्ष पनि रहेका थिए।
नेपाली साहित्य परिषद्, सिक्किमले वर्षेनी प्रदान गर्दै आएको भाषा गौरव सम्मान यसपाली भोटिया भाषाको निम्ति टाशी भोटिया र लेप्चा भाषाको निम्ति निम दोर्जी लेप्चालाई प्रदान गरियो। यसैगरी, भाषा सेवाश्री सम्मान कमल काफ्ले र एसएम बस्नेतलाई प्रदान गरियो।
यसरी नै परिषद्ले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउॅंदै आएका व्यक्तित्वहरू सेवाश्री सम्मान सम्मानित गरेको छ। साहित्य सेवाश्री सम्मानले जयदीप सुब्बालाई सम्मानित गरियो भने नाट्य सेवाश्री सम्मानले रेवती लेप्चा र पूरणदीप शर्मालाई सम्मानित गरियो। सङ्गीत सेवाश्री सम्मानले राकेश कार्कीढोली र जीवन शर्मालाई सम्मानित गरियो।
यसै क्रममा पत्रकारिता सेवाश्री सम्मानले कविता शर्मा र धीरज बान्वतालाई सम्मानित गरियो भने नृत्य सेवाश्री सम्मानले अनु प्रधान र चित्रकारिता सेवाश्री सम्मानले बीके सुब्बा लाई सम्मानित गरियो। सम्मानित व्यक्तित्वहरूलाई मुख्य अतिथि र विशिष्ट अतिथिहरूको बाहुलीद्वारा अङ्गवस्त्र, स्मृति चिह्न र प्रशस्ती पत्र अर्पण गरियो।
कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेताहरूलाई अतिथिहरूको बाहुलीद्वारा ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार पनि प्रदान गरिएको थियो। परिषद्का अध्यक्ष हरि ढुङ्गेलले स्वागत सम्बोधन राखेको कार्यक्रममा परिषद्का साहित्य सचिव तुलसी घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल