
मङ्पु, 15 जुलाई (हि.स.)। मङपू सिन्कोना निर्देशालयमा खरसाङका विधायक सोनाम लामा र सिन्कोना विभागका निर्देशक डा समुएल राईबीच सिन्कोना बगानको वर्तमान अवस्था तथा श्रमिक कर्मचारीका समस्याबारे विस्तृत छलफल भएको छ। निर्देशक डा. राईले सिन्कोना बगानको समग्र अवस्था, व्यवस्थापन, सञ्चालन तथा श्रमिक कर्मचारीले भोगिरहेका विभिन्न समस्याबारे विधायक लामालाई विस्तृत जानकारी गराएका थिए।
विधायक लामाले सिन्कोना बगानका श्रमिक तथा कर्मचारीका समस्याप्रति आफू गम्भीर रहेको बताउँदै ती समस्याहरूको समाधानका लागि चाँडै नै सिन्कोना बगानका अधिकारीहरूसँग पुनः बैठक आयोजना गरिने बताए। उनले सम्बन्धित सबै पक्षसँग समन्वय गरी श्रमिक कर्मचारीका जायज माग सम्बोधन गर्न आवश्यक पहल गरिने विश्वास दिलाएका छन्।
बैठकमा सिन्कोना बगानको दीर्घकालीन विकास, श्रमिक-कर्मचारीको हित तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ। सिन्कोना श्रमिक कर्मचारीका समस्याबारे फेरि चाँडै नै बैठक गरिने विधायक सोनाम लामाले बताएका छन्।
बैठकमा भाजपा मण्डल अध्यक्ष प्रदीप क्षेत्री, भाजपा दार्जिलिङ जिल्ला महिला मोर्चा अध्यक्ष रोमा क्षेत्री घिसिङ, भाजपा मण्डल उपाध्यक्ष बिनोद मोक्तान, भारतीय मजदुर संघ (सिन्कोना जोन) अध्यक्ष हेमन्त रावत, सचिव आशीषदीप राई, भाजपा दार्जिलिङ जिल्ला प्रवक्ता चन्द्रकला राई तथा सिन्कोना विभागका अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / हनोक