
सिलगढ़ी, 16 जुलाई (हि.स.)। उत्तर बङ्गालमा बिहीवार बिहान परेको मुसलधारे पानीले जनजीवनलाई पूर्ण रूपले प्रभावित बनायो। लगबग एक घण्टासम्म परेको तीव्र पानीले सिलगढ़ीका केही भागहरू जलग्न भए भने दार्जीलिङ, खरसाङ तथा कालेबुङका पार्वतीय क्षेत्रहरूमा पनि घना वर्षा दर्ता गरियो। लगातार परेको पानीले गर्दा सिक्किमलाई जोड़्ने 10 नम्बर राष्ट्रिय राजमार्ग (एनएच-10)-मा पैह्रो गएको कारणले यातायात प्रभावित भयो।
मौसम विभाग अनुसार बिहीवार पानी पर्ने पूर्वानुमान व्यक्त गरिएको भए पनि घना वर्षाको चेताउनी जारी गरिएको थिएन। तथापि बिहान अचानक तीव्र वर्षा भयो। लगभग एक घण्टामा सिलगढ़ीमा लगभग 50 मिलीमीटर वर्षा दर्ता गरियो जसबाट हैदरपारा, चम्पासारी तथा महानन्दा नदीका दुवै किनारमा अवस्थित वार्ड नम्बर, एक, चार र पाँच जलमग्न भए। तथापि अपरान्हसम्ममा अधिकांश क्षेत्रहरूबाट पानी निकलिएपछि स्थिति धेरै सामान्य भयो।
पार्वतीय क्षेत्रहरूमा पनि वर्षाको प्रभाव व्यापक रह्यो। खरसाङमा 110 मिलीमीटर अनि कालेबुङमा 57 मिलीमीटर वर्षा दर्ता गरियो। घना वर्षापछि पागलाझोरा क्षेत्रको जलप्रवाह अचानक तीव्र भयो। सतर्कताको रूपमा 110 नम्बर राष्ट्रिय राजमार्गमा वाहनहरूको आवागमनलाई नियन्त्रण गरियो।स्थानीय मानिसहरू अनुसार पछिल्लो केही वर्षसम्म शान्त रहेको पगलाझोराको जलस्तर अचानक बढ़्नाले ग्रामीणहरू चिन्तित भएका छन्।
यसबीच सिक्किमको बरदाङग क्षेत्रमा एनएच-10 मा पैह्रो गएकोले सड़क यातायात बाधित भयो। प्रशासनले सड़कलाई सफा गर्ने कार्यलाई जारी राखेको छ। यसअघि टिस्टा नदीको जलस्तर बढ़ेकोले यस मार्गलाई अस्थायी रूपमा बन्द गरिएको थियो। जलस्तर घट्दै गएपछि सड़कलाई खोलियो। तर पछि सेवकस्थित कोरोनेशन पुलको छेउमा पैह्रो गएर पुनः मार्गलाई बन्द गर्नुपऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा