
उत्तरकाशी (उत्तराखण्ड), १६ जुलाई (हि.स.)। उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित निर्माणाधीन सिल्क्यारा सुरुङमा बुधबार-बिहीबार मध्यराति करिब २ बजी भएको दुर्घटनामा एक श्रमिकको मृत्यु भएको छ।
प्रारम्भिक जानकारीअनुसार, बडकोटतर्फबाट करिब ९०० मिटर भित्र सुरुङको कंक्रिट लाइनिङको एउटा भाग भत्किएर खसेपछि त्यसको चपेटामा परेका झारखण्ड निवासी २१ वर्षीय श्रमिकको घटनास्थलमै मृत्यु भएको हो।
उत्तरकाशी जिल्ला आपतकालीन सञ्चालन केन्द्रका अनुसार, दुर्घटनालगत्तै सम्बन्धित अधिकारी तथा कर्मचारीहरूले तत्काल उद्धार तथा राहत कार्य शुरु गरेका थिए। मृतकको शव सुरुङबाट बाहिर निकालिएको छ। नेशनल हाइवे एन्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेशन लिमिटेड (एनएचआईडीसीएल) ले घटनाको विस्तृत जाँच शुरु गरेको छ भने तथ्यगत प्रतिवेदन तयार पार्ने काम भइरहेको छ। प्रशासन तथा सम्बन्धित निकायहरूले पनि घटनाको छानबिन गरिरहेका छन्। अधिकारीहरूका अनुसार, सुरुङ निर्माणस्थलको सुरक्षा व्यवस्थाको समेत समीक्षा भइरहेको छ। मृतकका परिवारलाई घटनाबारे जानकारी दिइसकिएको छ।
जिल्लाधिकारी प्रशान्त आर्यले घटनालाई संज्ञानमा लिँदै बडकोटका एसडीएमलाई तत्काल घटनास्थल पुग्न निर्देशन दिएका छन्। उनले घटनाको वास्तविक कारण पत्ता लगाउन, निर्माण कम्पनीले अपनाएका सुरक्षा मापदण्डहरूको विस्तृत समीक्षा गर्न तथा समग्र अवस्थाको प्रत्यक्ष निरीक्षण गर्न निर्देशन दिएका छन्।
जिल्लाधिकारीले मृतकका परिवारलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन, कानुनी प्रक्रिया शीघ्र पूरा गर्न तथा सुरुङभित्र कार्यरत अन्य श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी