जम्मू-कश्मीरको भद्रवाहमा गोलीकाण्ड, एक जनाको मृत्यु, एसओजीका तीन जवान घाइते
जम्मू-कश्मीरको भद्रवाहमा गोलीकाण्ड, एक जनाको मृत्यु, एसओजीका तीन जवान घाइते


भद्रवाह, 17 जुलाई (हि.स.)। जम्मू-कश्मीरको डोडा जिल्लास्थित भद्रवाह क्षेत्रमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने स्पेशल अपरेशन्स ग्रुप (एसओजी) का तीन जना पुलिस जवान घाइते भएका छन्। पुलिसका अनुसार, ती व्यक्तिले सुरक्षाकर्मीको सर्भिस राइफल खोस्ने प्रयास गरेपछि घटना भएको हो।

पुलिस अधिकारीहरूका अनुसार, घटनासँग सम्बन्धित विषयमा एक धार्मिक उपदेशकलाई नियन्त्रणमा लिइएको छ। यद्यपि, उनको घटनासँगको प्रत्यक्ष सम्बन्धबारे तत्काल कुनै स्पष्ट जानकारी प्राप्त भएको छैन।

एक वरिष्ठ अधिकारीका अनुसार, उच्च पहाडी क्षेत्रमा शंकास्पद गतिविधिबारे सूचना प्राप्त भएपछि एसओजीको टोलीले बिहीबार भद्रवाह शहरबाट करिब ३५ किलोमिटर टाढा रहेको जाई-गान्डोह सडक क्षेत्रमा निगरानी तथा विशेष अभियान सञ्चालन गरेको थियो।

बिहीबार राति एसओजी टोलीले एक युवकलाई रोकेपछि उनले सुरक्षाकर्मीमाथि आक्रमण गर्दै सर्भिस राइफल खोस्ने प्रयास गरेको पुलिसको दाबी छ। त्यसक्रममा भएको हातपातका बीच एक एसओजी जवानले गोली चलाउँदा युवकलाई गोली लागेको थियो भने तीन जना पुलिस जवान पनि घाइते भए।

घाइते चारै जनालाई प्रारम्भिक उपचारका लागि भद्रवाह उपजिल्ला अस्पताल लगिएको थियो। त्यसपछि थप उपचारका लागि डोडास्थित सरकारी मेडिकल कलेजमा रेफर गरियो। उपचारका क्रममा चिका गाउँका ३० वर्षीय आरिफ हुसैनको मृत्यु भएको पुलिसले जनाएको छ।

पुलिसले घटनापछि एक धार्मिक उपदेशकलाई नियन्त्रणमा लिएको छ। सुरक्षा सतर्कता अपनाउँदै भद्रवाह शहरमा केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) र पुलिसको अतिरिक्त टोली परिचालन गरिएको छ। साथै, सेनाले जाई क्षेत्रमा व्यापक खोज तथा तलासी अभियान सुरु गरेको अधिकारीहरूले बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande