प्रेस क्लब अफ् सिक्किमको 24औं स्थापना दिवस पालन
प्रेस क्लब अफ् सिक्किमको 24औं स्थापना दिवस पालन


मालाराणा पात्रो 'कञ्चनजङ्घा कलम पुरस्कार' ले अलङ्कृत, सन्दीप प्रसादलाई 'लगनशील युवा पत्रकार पुरस्कार'

गान्तोक, 17 जुलाई (हि.स.)। प्रेस क्लब अफ् सिक्किम (पीसीएस) ले आज आफ्नो 24औं स्थापना दिवस राजधानीको चिन्तन भवनमा आयोजित एक भव्य कार्यक्रमबीच मनायो। कार्यक्रममा शिक्षा विभाग मन्त्री राजु बस्नेत मुख्य अतिथि तथा गान्तोकका विधायक दिले नामग्याल बर्फुङ्गपा विशिष्ट अतिथि थिए।

पीसीएसको स्थापना दिवस कार्यक्रमको मुख्य आकर्षण 'कञ्चनजङ्घा कलम पुरस्कार 2026 अलङ्करण' थियो। यस पाली प्रतिष्ठित नेपाली दैनिक 'हिमाली बेला' की सम्पादक मालाराणा पात्रोलाई उक्त पुरस्कारले अलङ्कृत गरियो। श्रीमती पात्रोलाई मुख्य अतिथि र विशिष्ट अतिथिहरूको बाहुलीद्वारा अङ्गवस्त्र, प्रशस्ति पत्र, स्मृति चिह्न र नगद पुरस्कारको चेक अर्पण गरियो।

यसैगरी, कार्यक्रमको दोस्रो आकर्षण 'लगनशील युवा पत्रकार पुरस्कार 2026' अलङ्करण थियो, जुन युवा पत्रकार सन्दीप प्रसादलाई प्रदान गरियो। पत्रकार प्रसादलाई मुख्य अतिथि र विशिष्ट अतिथिहरूको बाहुलीद्वारा अङ्गवस्त्र, प्रशस्ति पत्र, स्मृति चिह्न र नगद पुरस्कारको चेक अर्पण गरियो।

यस अघि कार्यक्रममा राज्यका तीन वरिष्ठ पत्रकारहरूलाई उनीहरूको उल्लेखनीय योगदानको लागि सम्मानित गरिएको थियो। सम्मानित पत्रकारहरूमा मीना छेत्री, सुष्मा छेत्री र कृष्ण लिम्बू सामेल छन्। यसैगरी, पत्रकार बिक्रेता एमके निन्डा र ग्राफिक डिजाइनर दिनेश मुखियालाई पनि उनीहरूको योगदानको लागि सम्मानित गरियो।

मुख्य अतिथि मन्त्री बस्नेतले आफ्नो सम्बोधनमा प्रेस क्लब अफ सिक्किमको २४औं स्थापना दिवस संस्थाको यात्राको उत्सव मात्र नभई लोकतन्त्रको महत्वपूर्ण स्तम्भको रूपमा पत्रकारिताप्रति सम्मान पनि रहेको बताए। उनले भने, जिम्मेवार र नैतिक पत्रकारिताले नागरिकहरूलाई जानकारी गराउन, लोकतान्त्रिक मूल्यमान्यताहरूलाई सुदृढ पार्न र जवाफदेहिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

उनले पत्रकारहरूको कल्याण र प्रेस क्लबको पूर्वाधारको विकासको लागि राज्य सरकारको निरन्तर सहयोगलाई प्रकाश पारे, जसमा बहुउद्देश्यीय हलसहितको अतिरिक्त तल्लाको निर्माण र डिजिटल मिडिया स्टुडियोको स्थापना समावेश छन्।

विशिष्ट अतिथि विधायक बर्फुङले प्रेस क्लब अफ् सिक्किमलाई 24औं स्थापना दिवसको बधाई दिॅंदै लोकतन्त्र सुदृढ बनाउन र सार्वजनिक जवाफदेहितालाई सुनिश्चित गर्न मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए। उनले पत्रकारहरूको कल्याण र मिडिया पूर्वाधारको विकासमा राज्य सरकारको निरन्तर सहयोग गरिरहेको बताउॅंदै यसले पत्रकारहरूलाई उनीहरूको व्यावसायिक जिम्मेवारीहरू पूरा गर्न सहयोग पुर्यायउँछ भनी बताए।

कार्यक्रमलाई अलङ्कृत पत्रकारद्वय मालाराणा पात्रो र सन्दीप प्रसादले सम्बोधित गरेका थिए। कार्यक्रममा प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष समीरहाङ लिम्बूले स्वागत सम्बोधन तथा प्रचार सचिव पंकज ढुङ्गेलले धन्यवाद ज्ञापन राखेका थिए। कार्यक्रममा गान्तोककी मेयर छिरिङ पाल्देन भोटिया, मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिरेन्द्र तामलिङ, मुख्यमन्त्रीका राजनीतिक सचिवद्वय जेकब खालिङ र बिकास बस्नेत, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande