
पूर्व मेदिनीपुर, 18 जुलाई (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको मयना थाना क्षेत्र अन्तर्गत अन्नपूर्ण बजारमा शनिवार सवेरै भएको भीषण आगलागीमा चार वटा पसलहरू जलेर पूर्ण रूपले खरानी भएको छ भने एउटा पसल आंशिक रूपमा जलेर क्षतिग्रस्त भएको छ। घटनाको कारणले क्षेत्रमा कोकोहोलो मचियो।
स्थानीय सूत्र अनुसार शनिवार सवेरै लगभग तीन बजे बजारका केही पसलहरूबाट अचानक आगो बलिरहेको तथा धुँवा निक्लिरहेको देखियो। त्यसपछि मानिसहरू तत्कालै आगो निभाउनमा जुटे। सूचना पाएर दमकलको एउटा वाहन घटनास्थलमा आइपुग्यो।
दमकल कर्मीहरू र स्थानीय मानिसहरूको संयुक्त प्रयासले आगोलाई नियन्त्रण गरियो। तथापि आगलागीको कारण अहिलेसम्म थाहा लाग्न सकेको छैन। प्रारम्भिक स्तरमा शर्ट सर्किट अथवा अन्य कुनै कारण हुनसक्ने आशङ्का व्यक्त गरिँदैछ। घटनाको सूचना पाएर मयना थानाको पुलिसले पनि घटनास्थलमा पुगेर विस्तृत जाँच आरम्भ गरेको छ। अग्निकाण्डमा भएको नोक्सानको मूल्याङ्कन गरिंदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा