
भारतीय अभिनेता कार्तिक आर्यनले आफ्नो करियरकै सबैभन्दा ठूलो उपलब्धि हासिल गर्दै ७२औँ राष्ट्रिय चलचित्र पुरस्कारमा फिल्म ‘चन्दु च्याम्पियन’ का लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार जितेका छन्। यो उनको करियरको पहिलो राष्ट्रिय चलचित्र पुरस्कार हो। पुरस्कारको घोषणा हुनेबित्तिकै कार्तिक आफ्नो खुशी नियन्त्रण गर्न नसकी भावुक बने।
यस विधामा उनले मलयालम फिल्म ‘भ्रमयुगम’ का लागि अभिनेता ममुट्टीसँग संयुक्त रूपमा उत्कृष्ट अभिनेताको पुरस्कार प्राप्त गरेका हुन्।
राष्ट्रिय पुरस्कारको घोषणा भएपछि कार्तिकले सामाजिक सञ्जालमा एउटा भावुक भिडियो साझा गरेका छन्, जसमा उनी परिवारसँगै पुरस्कार घोषणाको प्रत्यक्ष प्रसारण हेरिरहेका देखिन्छन्। आफ्नो नाम घोषणा हुनेबित्तिकै उनी खुशीले उफ्रिएका छन्। त्यसपछि उनका बुबा–आमाले उनलाई अँगालो हालेर बधाई दिए। भिडियोमा उनकी आमाले मायापूर्वक उनको गालामा चुम्बन गरेको दृश्यले त्यो क्षणलाई अझ भावुक बनाएको थियो।
भिडियोसँगै कार्तिकले लेखेका छन्, “अहिलेसम्म पनि यो अनुभूति महसुस गरिरहेको छु। केही क्षण शब्दभन्दा पर हुन्छन्। वर्षौँदेखि देखेको सपना आज साकार भएको छ। म सधैं आभारी रहनेछु।” साथै, इन्स्टाग्राम स्टोरीमा उनले “सपना साँच्चै पूरा हुन्छन्।” भनेर लेखेका छन्।
उल्लेखनीय छ, ‘चन्दु च्याम्पियन’ भारतका पहिलो पारालम्पिक स्वर्ण पदक विजेता मुरलीकान्त पेटकरको जीवनमा आधारित चलचित्र हो। यो भूमिकालाई पर्दामा जीवन्त बनाउन कार्तिक आर्यनले शारीरिक तथा मानसिक रूपमा कडा तयारी गरेका थिए, जसको दर्शक र समीक्षक दुवैले उच्च प्रशंसा गरेका थिए।