केबीसीको नयाँ सिजनमा खेल बदलिने, अमिताभ बच्चनले गरे खुलासा
अमिताभ बच्चन - फोटो सोर्स एक्स


लोकप्रिय टेलिभिजन क्विज शो ‘कौन बनेगा करोडपति’ (केबीसी) आफ्नो १८औँ सिजनसहित आगामी १० अगस्तदेखि पुनः दर्शकमाझ फर्किन लागेको छ। यसपटक शोको ढाँचा र नियमहरूमा धेरै महत्वपूर्ण परिवर्तन गरिएको छ। शोका होस्ट अमिताभ बच्चनले सामाजिक सञ्जालमा सार्वजनिक गरिएको नयाँ प्रोमोमार्फत बदलिँदो डिजिटल युगलाई ध्यानमा राख्दै अब प्रतियोगीहरूको सामान्य ज्ञान मात्र होइन, उनीहरूको सोच्ने र विश्लेषण गर्ने क्षमताको पनि परीक्षा लिइने बताएका छन्। यस सिजनको विषयवस्तु ‘सोचना पड़ेगा’ राखिएको छ।

प्रोमोमा अमिताभ बच्चनले आजको समयमा स्मार्टफोन र इन्टरनेटका कारण हरेक जानकारी सजिलै उपलब्ध हुने भएकाले केवल उत्तर कण्ठ पारेर मात्र सफलता प्राप्त गर्न नसकिने बताएका छन्। उनले भने, “आजकल उत्तर जहाँसुकै पाइन्छ, तपाईंको गोजीमा पनि। त्यसैले यसपटक केबीसीमा केही परिवर्तन गरिएको छ। अब केवल उत्तर सम्झेर मात्र पुग्दैन, त्यो उत्तरसम्म पुग्नका लागि सोच्नुपर्नेछ।”

अर्को प्रोमोमा पनि उनले भूगोल, इतिहास र विज्ञानजस्ता विषयहरूको परम्परागत ज्ञानभन्दा अगाडि बढेर प्रतियोगीहरूको तार्किक क्षमता र विश्लेषणात्मक सोचको परीक्षा हुने संकेत दिएका छन्।

सन् २००० मा शुरु भएको ‘कौन बनेगा करोडपति’ भारतीय टेलिभिजनका सबैभन्दा सफल कार्यक्रमहरूमध्ये एक मानिन्छ। तेस्रो सिजन, जसको प्रस्तुति शाहरुख खानले गरेका थिए, बाहेक सबै सिजनहरूको सञ्चालन अमिताभ बच्चनले नै गरेका छन्। आगामी १० अगस्तदेखि शुरु हुने १८औँ सिजनसँगै बिग बीले केबीसीसँगको आफ्नो २६ वर्ष लामो यात्रामा अर्को नयाँ अध्याय थप्नेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande